काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गर्ने तीन सञ्चालकविरुद्ध ऊर्जा मन्त्रालयले कारबाही थालेको छ।
ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तुरुन्त प्रस्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन सचिव अनुपकुमार उपाध्यायलाई निर्देशन दिएका हुन्।
मन्त्री शर्माले उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए। त्यही क्रममा उनले सञ्चालकहरुलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।
तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सबल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्तावमा अवरोध सिर्जना गरेका थिए। प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरेर मिडियामा कार्यकारी निर्देशकविरुद्ध प्रचार गराएका थिए।
मन्त्री शर्माले सञ्चालकहरुको यो व्यवहार विद्युत प्राधिकरण ऐन २०४१ को प्रतिकूल रहेको भन्दै कारबाहीको निर्देशन दिएका हुन्। सचिव उपाध्यायले उनीहरुलाई प्रस्टीकरणका लागि आजै चिठी काट्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
चित्तबुझ्दो जवाफ नदिएमा मन्त्रालयले उनीहरुलाई हटाउनेछ।
अग्रवाल र मिश्रलाई खिलराज रेग्मी मन्त्रीपरिषदका ऊर्जामन्त्री उमाकान्त झाले प्राधिकरणमा नियुक्त गरेका थिए। लामिछानेलाई भने सुशील कोइराला नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेकी राधा ज्ञवालीले नियुक्त गरेकी थिइन्।
ज्ञवालीपछि ऊर्जा मन्त्रालय सम्हालेका वामदेव गौतमले हटाएका लामिछाने अदालतको आदेशबाट केही समयअघि मात्र पुनर्बहाली भएका हुन्। प्राधिकरणमा घिसिङ नियुक्त भएदेखि नै असहयोग गर्दै आएका अग्रवाल र मिश्रले लामिछानेको पुनर्बहालीपश्चात् संगठित रुपमा अवरोध सुरु गरेका थिए।
सम्बन्धित समाचार-