
सन् २०१२ मा क्रिटिक्सबाट राम्रो समीक्षा पाउन सफल फिल्म 'कहानी'को सिक्वेल 'कहानी टू : दुर्गा रानी सिंह' यही हप्ता सार्वजनिक भयो। बोन्ड स्क्रिप्ट मोशन पिक्चर र पेन इन्डिया लिमिटेडको प्रस्तुति रहेको फिल्ममा एउटी आमाको जीवनकथालाई देखाइएको छ।
एउटी आमाको जीवनमा सन्तानको महत्व र सन्तानको जीवनमा आमाको भूमिकालाई फिल्मले देखाउँछ। विद्या बालन विद्या सिंहाको भूमिकामा छिन् र फिल्मको कथा उनकै जिन्दगीको वरिपरि घुम्छ। उनको छोरी मिनीको भूमिकामा छिन् नइशा खन्ना/तुनिशा शर्मा। जो व्हिलचेयरमा रहने अपाङ्ग बनेर देखिएकी छिन्।
एक दिन विद्या अफिसबाट घर फर्कंदा छोरी मिनी घरमा हुन्नन्। अचानक उनलाई अपरिचित नम्बरबाट फोन आउँछ र थाहा हुन्छ छोरी त अपहरणमा परेकी छिन्। अपहरणकारीले भनेजति रकम लिएर उनी दिइएको ठेगानामा पुग्न हतारिन्छिन्। तर बाटोमा उनको दुर्घटना हुन्छ र कोमामा पुग्छिन्। त्यसपछि फिल्ममा इन्ट्री हुन्छ- इन्स्पेक्टरको। जो प्रोमोशनको भोको हुन्छ। इन्सपेक्टर इन्द्रजित सिंहको भूमिकामा छन् अभिनेता अर्जुन रामपाल।
दुर्घटनाको छानबिनका क्रममा सिंहले विद्याको व्यक्तिगत डायरी हात पार्छ। डायरीमा उनले आफ्नो जीवनकथा लेखेकी हुन्छिन्। जसमा आफ्नो छोरीको बारेमा पनि लेख्छिन्।
इन्सपेक्टर र विद्याबीच अस्पतालमा भएको भेटले भने दर्शकलाई एक छिन रोकिन बाध्य पार्छ। किनकि इन्स्पेक्टरले विद्याको अनुहार दुर्गारानी सिंहसँग मिल्दो देख्छन्। त्यसपछि इन्सपेक्टरमा मानसिक द्वन्द्व सुरु हुन्छ।
इन्सपेक्टरले फिल्मको दोस्रो भागमा पुगेपछि मात्र दुर्गारानी सिंह खतरनाक अपहरणकारी भएको थाहा पाउँछन्। विद्या सिन्हा र दुर्गारानीको सम्बन्धबारे उनको डायरीबाट खुल्न आउँछ।
के विद्या आफ्नी छोरी मिनीलाई बचाउन सफल हुन्छिन् कि हुँदिनन्? फिल्म यसकै वरिपरि घुमेको छ।
सस्पेन्स फिल्ममा सुजोय घोषले धेरै आरोह अवरोहको प्रयोग गरेका छन्। निर्देशकीय हिसाबमा उनी राम्ररी प्रस्तुत भएका छन्। निर्देशक घोष र सुरेश नायारको कथामा बनेको फिल्मले अन्त्यसम्म दर्शकलाई बाँधिराख्छ। जसका लागि थ्रिल र सामाजिक परिवेशलाई निर्देशकले समेटेका छन्।
सुजोरी घोषले फिल्मलाई यथार्थ परक बनाउन पूरा मेहनत गरेका छन्। सो कारण फिल्ममा नाटकीय प्रस्तुति कतै महसुस गरिँदैन। दोस्रो हाफमा खुल्दै जाने रहस्यहरुले फिल्मलाई रोमान्चक बनाउँदै लान्छ।
अभिनयमा विद्या बालन र अर्जुन रामपालले निकै उत्कृष्ट प्रस्तुति दिएका छन्। फिल्ममा उनले आफ्नो छात्रको घरमा रहस्यको खोजी गरेको दृश्य, महिला प्रहरीसँग हुने उनको द्वन्द्व आदि निकै रमाइला दृश्यहरु छन्।
फिल्ममा प्रयोग भएको पार्श्व संगीतमा संगीतकार क्लिन्टन सेरेजोले राम्रो काम गरेका छन्। काहानी टूमा सिनेम्याटोग्राफीमा तपन बासुले आफूलाई उत्कृष्ट साबित गरेका छन्। उनले हरेक दृश्य र सिनहरुको कलर संयोजनमा धेरै ध्यान दिएको पाइन्छ।
बलिउड हंगामाले फिल्मलाई पाँचमा तीन र आधा तारा दिएको छ।