PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

राष्ट्रपतिसित असन्तुष्ट सभामुख पुगिन् शितल निवास, घट्ला अब दूरी?



मनोज सत्याल

राष्ट्रपतिसित असन्तुष्ट सभामुख पुगिन् शितल निवास, घट्ला अब दूरी?

काठमाडौँ : सभामुख ओनसरी घर्तीले आफूले संसद सचिवालयको सचिव पदमा नियुक्तिको सिफारिस गरेका गोपालनाथ योगीको नियुक्ति सदर गरिदिन राष्ट्रपतिलाई आग्रह गरेकी छिन्। 

राष्ट्रपति भवन शितल निवासमा पुगेर घर्तीले योगीको नियुक्ति किन रोकिएको भन्नेबारे जिज्ञासा राखेकी थिइन्। 

सभामुखले भदौ १३ गते योगीलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। 

तर झण्डै ३ महिना पुग्न लाग्दा समेत राष्ट्रपति कार्यालयले नियुक्ति अगाडि नबढाएपछि घर्तीले असन्तुष्टि व्यक्त गरेकी हुन्। सभामुख घर्तीले एमालेको प्रभावमा परेको राष्ट्रपतिले नियुक्तिको फाइल अगाडि नबढाएको निकटस्थहरुलाई बताउँदै आएकी छिन्। 

स्रोतका अनुसार राष्ट्रपतिले सचिवालयलाई सोधेर कारवाही अगाडि बढाउने जवाफ सभामुखलाई दिएकी छिन्। 

भेटवार्ताबारे सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटमा संविधान संशोधनबारे छलफल भएको उल्लेख छ। राष्ट्रपतिले सभामुखलाई सहमति बनाएर अगाडि जान सुझाएको समेत जनाइएको छ। 

राष्ट्रपति भण्डारीसँग बढेको दूरी कै कारण सभामुख घर्ती भारतीय राष्ट्रपतिका लागि राष्ट्रपतिले आह्वान गरेको स्टेट ब्याङ्क्वेटमा समेत सहभागी भएकी थिइनन्। 

सभामुख घर्तीले संविधानको २९६ को उपधारा १ बमोजिम सल्यानका गोपालनाथ योगीलाई सिफारिस गरेकी थिइन्। संसद ऐन अनुसार सचिवमा नियुक्त व्यक्ति महासचिव बन्न सक्ने प्रावधान छ। 

संविधान निर्माणका बेला समेत आवश्यक नरहेको राजनीतिक सचिव पदमा अहिले नियुक्ति गर्न लागिएको भन्दै एमालेले सभामुखको सिफारिसको विरोध गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell