काठमाडौँ : मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ पारित गरेसंगै मुटु सहित आठ अंग प्रत्यारोपण गर्ने कानुनी बाटो खुलेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले नियमावली पारित गरेसंगै दुबै मृगौला, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा र आँखा प्रत्यारोपण गर्न कानुनी बाटो खुला भएको हो ।
मानव अंग प्रत्यारोपण सम्बन्धी ऐन भए पनि नियमावलीको अभावमा नातेदारले मात्र अंग दिन सक्थे । ब्रेनडेथ भएकाहरुको अंग पुन प्रयोगमा ल्याउन पाइने कानुनी व्यवस्था थिएन । नियमावली पारित भएसंगै दुर्घटना तथा अन्य कारणबाट ब्रेन डेथ भएकाको अंग निकालेर अर्को ब्यक्तिमा प्रत्यारोण गर्न सकिने छ ।
ब्रेन डेथ भएकाहरुको परिवारका सदस्यहरुले अंगदान गर्ने अनुमति दिएमा वा मृतकले मृत्यू पूर्व अंगदान गर्ने अनुमति दिएको अवस्था ब्रेनडेथ भएका मृतकको अंगलाई प्रत्यारोपण गर्न सकिने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
बिहीबार मन्त्रीपरिषद्को विधेयक समितिले पारित गरेको नियमावली अनुसार कसैको बे्रन डेथबाट मृत्यु भएमा हरेक अस्पतालले मानव अंग प्रत्यारोपण केन्द्रलाई जानकारी दिनुपर्ने र अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्ति केन्द्रमा सुचिकृत हुनुपर्ने व्यवस्था छ । फोटो :www.morror.co.uk