काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको ड्याम बनाउन खन्ने क्रममा पहेँलो बालुवा भेटिएको छ। सिन्धुपाल्चोकको अम्बाथानमा ड्याम बनाउन खन्ने क्रममा शुक्रबार पहेँलो बालुवा निस्किए पछि महत्वपूर्ण खनिज हुनसक्ने भन्दै काम रोकेर सो स्थानलाई तारबार गरिएको हो।
पहेँलो बालुवा निस्किएपछि सुन हुनसक्ने आशंकामा खानेपानी विकास बोर्डका अधिकारीले भूगर्भ विभागलाई जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक निरज डांगीका अनुसार बोर्डका अधिकारी, गाउँ विकास समिति र स्थानीयको रोहवरमा पहेँलो बालुवा मुचुल्का गरी परीक्षणका लागि विभागमा पठाइएको छ।
बालुवामा फेला परेको स्थान नेपाली सेनाको सुरक्षा घेराभित्रको क्षेत्र रहेकाले सो क्षेत्रको सुरक्षा सेनाले नै गरिरहेको छ। खनिएको स्थानलाई तारबारले बेरेर राखिएको छ भने विभागबाट परिक्षण प्रतिवेदन नआएसम्मका लागि काम रोकिएको छ।
‘सुनको डल्ला भनेर हल्ला आएको छ तर त्यस्तो केही हैन,’ प्रहरी निरीक्षक डांगीले पहिलोपोस्टसँग भने‘ खन्दा निस्किएको बालुवा पहेंलो देखिएपछि कुनै धातु हो कि भनेर काम रोकेको जानकारी आएको छ।’
मेलम्ची खानेपानी आयोजना क्षेत्रको सुरक्षामा सेना खटिएको छ। सैनिक प्रवक्ता ताराबहादुर कार्कीले सेनाको सुरक्षा घेरामा रहेको क्षेत्रमा सुन फेला परेको बारेमा मुख्यालयलाई औपचारिक रुपमा कुनै जानकारी नआएको बताए।
यता ट्विटरमा भने सुन भेटिएको भन्दै हल्लाखल्ला र व्यङ्ग्यात्मक ट्विट भइरहेको छ-
मेलम्चिमा सुन भेटियो कान मेरो बुच्चै ! #नयाउखान
— Keyshor Poudel (@kisshorr) December 2, 2016
मेलम्चिमा सुन भेटिएको भ्रम छरेर आयोजना बिथोल्ने योजना बुन्दै त छैनन ?
— Resham K.C.™ (@Reshamkcc) December 2, 2016
भोली मेलम्चीबाट एक बोरा सुन आउने भयो । बनेपा पुरै किन्दिन परो, बैना गर्न जाउँ कि क्या हो ?
— टुटुल्के™ :) (@Tutulke) December 2, 2016
मेलम्ची सुरुङ्ग खन्दा सुन निक्लियो रे। अब तेहि सुन बेचेर मिनिरल वाटर आयात गरेर काठमाडौबासी लाई पिलाम्ने हो।
— ⓤⓜⓔⓢⓗ ⓢⓘⓖⓓⓔⓛ (@sigdelumesh) December 2, 2016
हामी त सुन भा प्रदेशमा बस्छम् चाहिने भए गाभिअौं ! pic.twitter.com/GJvjcbH7KQ
— 𝔅𝔞𝔫𝔡𝔢𝔰𝔥 (@bandesh) December 2, 2016
कोटेश्वर तिरका ट्राफिक जति मेलम्ची गए कि क्या हो सुन लिन। अझै राम्रो संग खुलेको छैन त बाटो 😂😂😂
— भिरखर्के (@bhirkharke) December 2, 2016