
काठमाडौं : पटकपटक भएको वार्ताबाट पनि निष्कर्ष ननिस्किएपछि अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज पुन: वार्ता हुने भएको छ।
डा. केसीका प्रमुख मागमध्ये एक माग चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिए पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त नगरी अनसन नतोड्ने अडानमा केसी छन्।
१० औँ पटकको अनसनमा रहेका केसीलाई शुक्रबार बेलुका नै अनसन तोडाउनेगरी सहमतिमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। रातिसम्म भएको वार्तामा १० बुँदे सहमतिको मस्यौदा तयार गरिएको थियो। सरकारी टोलीले एउटा उच्चस्तरीय समिति गठन गरी प्रक्रियागत त्रुटि छ भने त्यसको रिपोर्ट पेश गर्ने गरी समिति गठन गर्ने प्रस्ताव गरेको छ।
रातिको वार्तामा उपकुलपति खनियाँबारे भने विषय नै प्रवेश नगरेको केसीका तर्फबाट वार्ता टोलीमा रहेका डा. जीवन क्षेत्रीले बताए। उनका अनुसार आज पुन: बस्ने वार्तामा अरु छलफल हुनेछ।
शिक्षा मन्त्रालयमा राति भएको वार्तामा सरकारी टोलीले १० बुँदे सहमतिको मस्यौदा तयार पारेको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार केही दिनअघि नियुक्ति भएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन सिंहले राजीनामा दिइसकेकाले केही दिनमै अर्को डीन नियुक्त गर्ने लगायतका विषयमा सहमति भएको छ। (केसीको फाइल फोटो)