PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

हिजो किन अकस्मात् पाटन क्षेत्रमा विद्युत आपूर्ति बन्द भयो?



पहिलोपोस्ट

हिजो किन अकस्मात् पाटन क्षेत्रमा विद्युत आपूर्ति बन्द भयो?

काठमाडौँ : तिहार यता लोडसेडिङमुक्त रहेको काठमाडौँ उपत्यकामा रहेको पाटनका केही क्षेत्रमा हिजो राति करिब नौ बजे अन्धकार छायो। केही ग्राहकको घरमा राति नै बत्ती आयो भने केहीमा आज बिहानसम्म पनि बत्ती आएको थिएन।

किन यस्तो भयो?

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हिजो रातभर बत्ती नभएका स्थानममा पनि आज बिहान करिब साढे नौ बजेदेखि  विद्युत आपूर्ति सुचारु भइसकेको छ। 

उनका अनुसार हिजो राति करिब नौ बजेतिर ६६/११  केभी पाटन सबस्टेसनबाट सुरु हुने ११ केभी पाटन फिडरसँग सम्बन्धित अन्डरग्राउन्ड एक्सएलपिई केवलमा अचानक गड्बडी उत्पन्न भै सो फिडरमा पर्ने केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको हो। 

'यो सबस्टेसनमा ६६/११ केभी १८ एमभिएका तीन ट्रान्सफर्मर छन्, जसले गर्दा यसको कूल क्षमता ५४ एमभिए रहेको छ', उनी भन्छन्, 'त्यहीँबाट निस्कने फिडर हो पाटन फिडर पनि। सर्किट ब्रेकरदेखि यो फिडर शुरु हुने पोलसम्म भूमिगत केवल हुन्छ त्यसको तीन फेज मध्ये एक फेजमा समस्या आई आपूर्ति प्रभावित भएको हो।'

त्यसमध्ये करिब ८५% ग्राहकहरुलाइ राति नै अर्कोतर्फबाट विद्युत उपलब्ध गराइएको थियो। उक्त केबल बाइपास गरी पुल्चोक बितरण केन्द्र अन्तर्गत पर्ने पाटन फिडरको लोड लगनखेल बितरण केन्द्र अन्तर्गत पर्ने जावलखेल फिडरमा सारी प्रभावित पाटन क्षेत्रका राति विद्युत सुचारु गर्न सम्भव नभएका ग्राहकहरुकहाँ आज करिब साढे नौ बजे बिहानबाट बैकल्पिक ब्यवस्थामार्फत विद्युत सुचारु गरिसकिएको उनले बताए।

सन्ध्याकालीन पिक लोड आवर आइपुग्नु अगावै दिउँसो ४ बजेसम्म भूमिगत केबल मर्मत/बदली कार्य सकिइसक्ने जानकारी आफूलाई पुल्चोक वितरण केन्द्रबाट प्राप्त भएको पनि उनले बताए।

उनले लोडसेडिङ हटाउने अभियानमा अधिकतम लोड खपत हुने आइरन, हिटर, एसी जस्ता विद्युतीय उपकरणहरु पिक लोड समयमा नचलाई सहयोग पुर्‍याउन र आफ्ना आफन्त/ प्रियजन/ छरछिमेकमा पनि यस्तै गर्न अनुरोध गरिदिन आग्रह गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell