
एल क्लासिकोको रुपमा परिचित बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो भिडन्त आज राती हुँदैछ।
स्पानिस ला लिगा अन्तर्गत पहिलो लेगको एल क्लासिको बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुँदैछ। ला लिगाको १४ औं चरणको खेल नेपाल समय अनुसार राती ९ बजे सुरु हुनेछ।
ला लिगामा १३ खेल सकिँदा अपराजित रियल बार्सिलोना भन्दा ६ अंककले अगाडी छ। रियलको १३ खेलबाट ३३ अंक छ भने बार्सिलोनाको समान खेलबाट २७ अंक छ।
रियल अंक तालिकामा मात्र माथि छैन यस सिजन २१ खेलमा अपराजित समेत रहेको छ। रियलले पछिल्लो पाँच लिग खेले पनि जितेको छ।
रियल र बार्सिलोनाबीचको खेललाई अंकको लागि मात्र नभई प्रतिष्ठाको लडाईको रुपमा समेत लिइन्छ।
यी दुई क्लबबबीचको खेल विश्वकप वा च्याम्पियन्सको लिगको कुनै खेल भन्दा कम हुनेछैन। दुवै टीमका खेलाडी देखिएर प्रशिक्षक, समर्थक एल क्लासिकोका लागि व्यग्र रुपमा प्रतिक्षा गरिरहेका हुन्छन्।
लिगमा यी दुई टीमबीच ६ अंकको अन्तर रहेको अवस्थामा रियललाई भन्दा पनि बार्सिलोनाको लागि जित महत्वपूर्ण छ। साथै जितका लागि बार्सिलोना नै व्यग्र प्रतिक्षमा समेत छ। ला लिगाकै पछिल्ला दुई खेलमा बार्सिलोनाले बराबरी खेल्दै सम्भावित ६ मध्ये २ अंक मात्र जोडेको थियो।
यस्तै एल क्लासिकोका टप स्कोरर रहेको मेसीले सन् २०१४ यता रियल विरुद्ध गोल गर्न सकेका छैनन्। २०१४ मा रियललाई ४-३ ले हराउँदा ह्याट्रिक गरेको मेसीले एल क्लासिकोमा २१ गोल गरिसकेका छन्।
जारी लिगको सर्बाधिक गोलकर्ताको होडमा मेसी ९ गोलका साथ दोस्रो स्थानमा छन्। १० गोल गरेको रियलका क्रिस्टियानो रोनाल्डो सर्बाधिक गोलकर्ताको शीर्ष स्थानमा छने भने बार्सिलोनाकै लुइस सुवारेज ८ गोलका साथ तेस्रो स्थानमा छन्।
बार्सिलोनाका कप्तान आन्द्रेज इनेस्टा रियल विरुद्ध मैदान फर्कन सक्ने बताइएको छ। घुँडाको चोटका कारण इनेस्टा ६ साता मैदान बाहिर थिए भने बार्सिलोनाका ७ खेल गुमाएका थिए।
यता रियलका दुई मुख्य खेलाडी विंगर गारेथ बेल र मिडफिल्डर टोनी क्रुस चोटका कारण एल क्लासिकोमा उपलब्ध हुनेछैनन्।