
काठमाडौं : कुवेत जान दिल्ली हुँदै दुबई पुगेका ६ जना नेपाली महिलालाई दुबईको अध्यागमनले नेपाल फिर्ता पठाएको छ। घरेलु कामदारको रुपमा कुबेतका लागि दिल्लीको बाटो हुँदै पुगेका उनीहरुलाई मानव तस्कर समूहले लगेको आशंकामा दुबई अध्यागमनले नेपाल फर्काएको हो।
उनीहरु त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै विमानस्थलमा रहेको अध्यामगनको कार्यालयले नियन्त्रणमा लिएर सोधपुछपछि थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको छ।
‘दिल्ली हुँदै दुबई पुगेका ६ जना नेपाली महिला नेपाल फिर्ता आएपछि विभागमा पठाएका छौं,’ विमानस्थल अध्यागमनका प्रमुख उद्दव भट्टराईले पहिलोपोस्टसँग भने‘ उनीहरु बारे थप अनुसन्धान विभागमा हुनेछ।’
रोकिएन दिल्ली रुट
वैदेशिक रोजगारीको आवरणमा मानव तस्करीमा संलग्न समूहले नेपालको त्रिभुवन विमानस्थलबाट हवाई मार्ग प्रयोग नगरी स्थलमार्ग हुँदै भारतको नयाँदिल्ली पुगेर हवाई मार्गको प्रयोग गर्ने क्रम बढेपछि ३ वर्ष अगाडि भारतले 'नो अब्जेक्सन लेटर' अनिवार्य गरे पनि मानव तस्करी रोकिन सकेको छैन।दिल्ली विमानस्थलमा कडाई भएपछि मानवतस्करीमा सक्रिय समूहले विकल्पमा मुम्बई हुँदै श्रीलंकाको रुटको प्रयोग शुरु गरेका थिए। यो रुटसमेत सार्वजनिक भएपछि पछिल्लो समय उनीहरु पुनः दिल्लीकै हवाई रुटमा प्रयोग शुरु गरेको शनिबारको घटनाले देखाएको छ।