PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माओवादीले युद्ध त्याग्यो, बन्दुक छोडेर दीनानाथ शर्माले कलम समाए



फणीन्द्र संगम

माओवादीले युद्ध त्याग्यो, बन्दुक छोडेर दीनानाथ शर्माले कलम समाए

काठमाडौं : आफ्नो निबन्धकृति 'कुलुङ्गाकी आमा' माथिको अन्तरक्रियामा रहेका माओवादी केन्द्रका नेता दीनानाथ शर्मा एकाएक विगतको स्मृतिमा पुगे। र, सम्झिए- उनै कुलुङ्गालाई, जोसँगका बाल्यकालीन उच्छ्वास उनी अझै महसुस गर्न सक्छन्।
 
कुलुङ्गा अर्थात् उमे कामी। एक दलित पात्र। त्यसो त कुलुङ्गाको नाम उमे हो भन्ने उनलाई धेरैपछि मात्र थाहा थियो। 'सामन्ती समाजमा दलितहरु उसै पनि पिल्सिएका हुन्छन्। सेते, काले, तिखे, लिखे, कुलुङ्गा… दलितहरुको खास नाम नै कसले उच्चारण गर्थ्यो र,' शनिबार राजधानीमा भएको कार्यक्रममा उनले आफ्नो पात्रबारे प्रस्ट पारे।
 
उमे कामी पनि पछि वामपन्थी राजनीतिमै लागे, शर्मासँगै। सशस्त्र युद्धका बेला तिनै कुलङ्गाकहाँ सात दिन बसेका थिए- रामबहादुर थापा बादल। 'निम्नवर्गीय/गरिबकहाँ लुक्नु सुरक्षाको कोणबाट पनि हामीलाई फाइदा थियो। बादलजी सुरक्षित कुलङ्गाकैमा रहनुभयो,' किताबमाथिको अन्तरक्रियाभन्दा बढी युद्धकालीन स्मृतिलाई उनले बढी खोतले।
 
तत्कालीन नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता भएपछि २०६३ यता माओवादीले सशस्त्र युद्ध त्याग्यो, बन्दुक छोडेपछि शर्माले कलम समाए।
 
६३ सालयता नै उनले ११ वटा किताब लेखिसके, साहित्यिक छ र राजनीतिक पाँच वटा। 'कुलुङ्गाकी आमा' शर्माको एघारौं कृति हो। गएको असोजमा प्रकाशन भएको।
 
'म लेखक बन्छु भनेर आएको होइन। मन लाग्छ लेख्छु तर कस्तो लेख्छु आफैंलाई थाहा हुन्न,' शालीन व्यक्तित्वको छवि बनाएका शर्माले उस्तै भंगीमामा भने, 'म उखरमाउलो राजनीति गरेर आएको मान्छे। कहिलेकाहीँ साहित्यको शीतल छहारी ताप्न मन लाग्छ।'
 
राजनीतिक व्यक्तिहरुको जीवनलाई खडेरीसँग तुलना गरेका उनी अहिले साहित्यको शीतल ताप्न आइपुगेका छन्। राजनीतिक सक्रियता कम र साहित्यिक साधनामा बढी समय खर्चिरहेका छन्। 'राजनीतिपछिको फुर्सदिलो समय कसरी बिताउने?' संस्मरण र निबन्धमै कलम चोबिसकेका उनले भने, 'म राजनीतिक कम भएर साहित्यिक बढी बन्न चाहन्छु।'
 
निबन्धका अलावा उनी कविता पनि लेख्छन्। केही कविता र अन्य रचना जोगाएर राखेका पनि थिए तर सेनाले घर छापा मार्दा जलाइदियो। उनी ५९ सालमा फर्किए, 'बागलुङमा पुगेका सेनाहरुले घर खानतलासी गर्दा मेरा कविता मात्रै होइन अन्य महत्त्वपूर्ण रचना पनि नष्ट गरिदिए।' आफ्नो सिर्जना नष्ट गरेको इखले हुन सक्छ उनी अब कविता संग्रहको तयारीमा छन्। सेनाले कवितामा आगो लगाइदियो, शर्माको आउने कविताले 'आगो बाल्ने' हुन् होइनन्; समय कुर्नैपर्नेछ।
___

कुलुङ्गाकी आमामाथि बोल्ने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले एक दशकमा ११ कृति लिएर आउनु शर्माको सिर्जनशीलताकै उपज भएको भन्दै प्रशंसा गरे। 'राजनीतिक जटिलत र व्यस्ताका बीच पनि कसरी यस्तायस्ता कृति लिएर आउनुभयो, म आश्चर्यमा छु,' उनले भने, 'अहिले देखिरहेको छु- राजनीतिक आग्रहकै कारण राम्रो लेखिरहेका र सम्भावना बोकेका कतिपय साहित्यकार बिग्रेका छन्। उहाँबाट तिनले सिक्नुपर्छ।'
 
निबन्धकार तेजेश्वरबाबु ग्वंग:ले पनि किताबमाथि टिप्पणी गर्दै कतिपय ठाउँमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछाने पढिरहेको भान भएको बताए। शर्माले निबन्धमा गरेको प्रयोग सरल-शालीन भएको उनको भनाइ थियो। 'निबन्ध निर्बन्ध हुनुपर्छ। कुनै सीमा, बन्धन र अंकुश नभएको,' उनले थप बोले, 'उहाँको निबन्धमा उडान छ। प्रखर उडान।'
 
अर्का साहित्यकार श्रीओम श्रेष्ठ रोदनले भने आत्मपरक निबन्धका हिसाबले पछिल्लो समय सशक्त कृति आएको भनाइ राखे। राजनीतिमा लामो समय बिताए पनि लेखकले निबन्धमा राजनीतिभित्रका समस्या र बाध्यतालाई स्वतन्त्रतापूर्वक निफनेको भन्दै श्रेष्ठले थपे, 'राष्ट्रप्रेममाथि नयाँ कोणबाट गरिएको व्याख्या तारिफयोग्य छ। नाकाबन्दी र भूकम्पको पीडा, युवाहरुको विदेश पलायनका साथै सपनामाथि पनि सुन्दर चित्रण गर्नुभएको छ।'
 
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले किताबले कुलुङ्गाकी आमाको मात्र नभई आम नेपाली आमाको विम्ब बोकेको टिप्पणी गरे। प्राडा देवीप्रसाद गौतम, तुलसीहरि कोइराला, छविरमण सिलवालले पनि लेखकबाट थप र सशक्त सिर्जनाको अपेक्षा गर्दै आफ्नो भनाइ राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell