- प्रभात भट्टराई
गेरुबस्त्रधारीले कोट लगाउने मध्ये एक जनाको काखिमुनीबाट हात छिराएका छन् 'तथास्तु' मुद्रामा अगाडितिर हत्केला फर्काएका छन्।
गेरुबस्त्रधारी टाँसिएका ब्यक्तिले चाहिँ आफ्ना दुबै हातका औँला एक आपसमा गाँसेका छन्- हात कम्मरको छेउमा पुर्याएर। उनी दुवै बुढीऔँला एक छिन नबिसाई चलाइरहन्छन्। अर्का कोटधारीचाहिँ बाँकी दुई जनाको गतिविधि हेर्दै निरीहभावमा उनीहरुलाई पछ्याउँछन्। तीनै जना हिँड्दै माइतीघरबाट नयाँबवानेश्वर तिर लाग्छन्।
स्वास्थ्य शिक्षामा बेथितिको माग राख्दै २१ दिन देखि आमरण अनसनरत प्राध्यापक डा गोविन्द केसीको समर्थनमा राजधानी आज निस्किएको र्यालीको अग्र दृश्य हो यो।
कोट लगाउनेमध्ये एक जनाको अगाडि प्ले कार्ड टाँसिएको छ- प्रधानमन्त्री। अर्काको अगाडी छ- स्वास्थमन्त्री। गेरुबस्त्रधारीको नाम नटाँसिएको भए पनि पहिचान गर्न गाह्रो पर्दैन- योग गुरु रामदेव।
.jpg)
वीरगञ्ज पुगेर रामदेवसँग योग गर्न भ्याउने तर अनसनरत डाक्टर केसीप्रति वेवस्ता गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको गतिविधिप्रति युवाहरुले र्यालीमा रचनात्मक ब्यंग्य प्रहार गरे। त्यस्तै स्वास्थ्य मन्त्री गगन थापाको लाचारीलाई पनि उनीहरुले प्रस्तुत गरेका थिए।
उनीहरु तीन जनाको पछि थिए डाक्टर केसीको समर्थनमा उपस्थित सर्वसाधारण। हजारौँको संख्यामा सर्वसाधारण सडकमा उत्रिएर डाक्टर केसीको माग पूरा गर्न सरकारलाई खबरदारी गरे। उपस्थितमध्ये अधिकांश युवायुवती थिए। मेडिकल शिक्षाका विद्यार्थीदेखि समाजका हरेक पेशा र तप्काका ब्यक्तिहरु र्यालीमा उपस्थित भएका थिए।
टाउकोमा पागल लेखेको स्टिकर टाँसेका एवं हात हातमा प्लेकार्ड बोकेका उनीहरुले 'माफियाको धन्दा राजनीतिक भागबण्डा', 'हाम्रो स्वास्थ्य हाम्रो हातमा हामी डाक्टर केसीको साथमा', 'कान खोली सुन ओली, देउवा, प्रचण्ड,तिम्रो माफिया मोहले देश हुन्न सम्पन्न' जस्ता नारा लगाए।
सहभागीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरे। डाक्टर केसीको माग पूरा गर्न बेइमानी गरेको भन्दै उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलको समेत राजिनामा माग गरे।
माइतीघरबाट बानेश्वरसम्म पुगेको र्याली कोणसभामा परिणत भएको थियो। सभामा बिभिन्न क्षेत्रका युवायुवतीले मुक्तक एवं कविता मार्फत सरकारलाई खवरदारी गरेका थिए।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता डा बावुराम भट्टराईले पनि सभामा उपस्थित भएर डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाए। उनले डाक्टर केसी कुनै एक ब्यक्ति मात्र नभई समग्र देशबासीको हितका लागि आफ्नो ज्यान अर्पण गर्न तत्पर योद्धा रहेको बताए। उनले कुनै पनि बहानामा डा. केसीको जीवनसँग खेलबाड नगर्न सरकारलाई चेतावनी दिए।
चिकित्सा शास्त्र अध्ययन संस्थानका डाक्टर बिष्णु भण्डारीले चार दिनदेखि इमर्जेन्सीबाहेक अरु सेवा ठप्प पार्दा समेत सरकारले कानमा तेल हालेर बसेपछि बाध्य भएर सडकमा उत्रिएको बताए। 'क्रान्ति गर्ने भनेर १५ बर्षको युवालाई बन्दुक बोक्न पठाउने धनीराम पौडेल आज शिक्षामन्त्री छन्,' उनले भने, 'तर, आम जनताले सुलभ स्वास्थ्य सेवा पाउनुपर्छ भनेर केसीले राखेको माग सुनेको नसुन्यै गर्छन्।' छ महिनादेखि अड्किएको स्वास्थ्य शिक्षा आउन नसक्ने तर सांसदको तलव बढाउने बिधेयक एक दिनमा पारित हुनुले हाम्रा नेताको जनताप्रतिको उत्तरदायित्व छर्लंगै भएको उनले बताए।
सामाजिक क्रियाकलापका लागि फेसबुक चलाउने युवाहरुले खोलेको समुह 'मेन्स रुम रिलोडेड (एमआरआर)' का शर्माजी प्युठानले कविता मार्फत भने- 'दागबत्ती दिनेछौँ सरकारको, जनताले कफन बाँध्नेछौँ, यदि मेरो गोविन्द केसीलाई केही भयो भने सरकार तेरो हामी मलामी आउनेछौँ।'
सोलिडारिटी फर डाक्टर केसी अलाइन्सका संयोजक डा जीवन क्षेत्रीले सरकार सँधै झुक्याउने र अलमल्याउने खेलमा लागेको बताए। 'पटक पटक सम्झौता गर्ने तर पुरा नगर्ने एवं भ्रष्ट र बौद्धिक चोरहरुलाई विश्वविद्यालयको साँचो सुम्पने सरकारले जनतालाई सधैं गुमराहमै राख्न खोज्दो रहेछ' उनले भने।
चलचित्र निर्देशक निश्चल बस्नेतले २१ दिनसम्म जनताका लागि भोको बसेको सत्याग्रहीप्रति सरकाले कसरी आँखा चिम्लिन सकेको होला भनेर आफूले कल्पना सम्म गर्न नसकेको बताए।
र्यालीमा सहभागी तन्नेरीहरुले डाक्टर केसीलाई केही भएमा आफू तिनै माग लिएर त्यही ठाउँमा त्यसै गरी आमरण अनसन बस्न तयार रहेको भन्दै सरकारलाई खेलाँची नठान्न चेतावनी दिएका थिए।