
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साफ गेम्स सन् २०१९ मार्च ९ देखि १८ सम्म नेपालमा आयोजना हुने भएको छ। साउथ एसियन ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा सम्पन्न बैठकले १३ औं साफ २०१९ गर्नेगरी मिति तोकेको हो।
बैठकले साउथ एसियन ओलम्पिक काउन्सिलको मुख्य कार्यालय नेपालमै बनाउने निर्णय गरेको छ। सन् १९८४ देखि नै कार्यालय कहाँ राख्ने भन्ने विषयमा छलफल सुरु भए पनि अहिलेसम्म टुङ्गो लागेको थिएन।
नेपालले यसअघि सन् १९८४ को पहिलो संस्करण र सन् १९९९ को आठौं संस्करणको साफ गेम्स आयोजना गरिसकेको छ।
काठमाडौंमा भएको बैठकमा नेपालसहित पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश, माल्दिभ्स र भुटानका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
दक्षिण एसियाली क्षेत्रबाट अलग हुने तयारीमा रहेको अफगानिस्तान भने बैठकमा उपस्थित थिएन।
गत फेब्रुअरीमा भारतमा भएको १२ औं साफ गेम्सको समापनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपालमा १३ औं साग आयोजना गर्न साउथ एसिया ओलम्पिक काउन्सिलको झण्डा ग्रहण गरेका थिए।
नेपालले सन् २०१८ मै १३औं साग गेम्स आयोजना गर्ने बताए आए पनि सातौं राष्ट्रिय खेलकुदको ढिलाइका कारण साग गेम्सको मिति पछि सरेको हो।