32.jpg)
नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा शनिबार चौथो भएका छन्।
प्रिजजिङ राउण्डमा सहभागी ६ राष्ट्रका ७ खेलाडीमध्ये विमल शीर्ष ५ मा रहँदै फाइनल राउण्डमा पुगेका थिए। पदकबाट थोरै चुकेका विमलले फाइनल राउण्डमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके। थाइल्यान्डकाद्वय वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए।
विमलको प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारेका थिए। विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख भएपनि पछि कार्यक्रम उद्घोषकले इविप्टका दुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि ७ खेलाडीको अन्तिम सूची तयार गरिएको थियो।
दक्षिण एसियाली, एसियाली तथा विश्व शारीरिक सुगठन च्याम्पियनसिपको अनुभव बटुलिसकेका विमलले भारतको मुम्बईमा भएको छैटौं विश्व च्याम्पियनसिपको स्पोर्ट्स फिजिकमा रजत जितेका थिए। विमलले दुई दक्षिण एसियाली, एक एसियाली तथा तीन विश्व च्याम्पियनसिप (अहिलेको समेत) मा भाग लिइसकेका छन्।
यसपटक दुई स्पर्धामा सहभागिता जनाएका विमलले शुक्रबार स्पोर्ट्स फिजिकमा भाग लिएका थिए। त्यसमा उनी प्रिजजिङ राउन्डबाटै बाहिरिए।
शनिबारै नेपालका विनोद वज्राचार्यले स्पोर्ट्स फिजिकको १७५ सेन्टीमिटर उचाईमा भाग लिदै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरे। विनोद पनि प्रिजजिङ राउन्डमै सीमित भए। विनोदको स्पर्धामा विभिन्न ८ राष्ट्रका १५ खेलाडी सहभागी थिए। यससंगै प्रतियोगितामा नेपाली पुरुष खेलाडीको चुनौती समाप्त भएको छ।
यसअघि शुक्रबार नेपालका अनिललाल श्रेष्ठले शारीरिक सुगठनको ६५ केजी र मास्टर्स ४० वर्षमाथि खेलेका थिए। अनिल दुवै स्पर्धामा प्रिजजिङ राउन्डबाट अगाडि बढ्न सकेनन्। अनिल समग्रमा छैटौं स्थानमा रहे।
अब प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालकी ननिता महर्जनले महिला एथलेटिक फिजिकको १६० सेन्टीमिटर उचाईमा खेल्नेछिन्। त्यो खेलनै नेपाली खेलाडीको अन्तिम खेल हुनेछ। चालू प्रतियोगितामा एक महिलासहित चार नेपाली खेलाडीले विभिन्न ६ स्पर्धामा भाग लिएका छन्।
विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक संघको आयोजनामा थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा शुक्रबारबाट सुरु भएको च्याम्पियनसिपको औपचारिक उद्घाटन भने शनिबार मात्र गरियो। थाइल्यान्ड खेलकुद प्राधिकरणका डेपुटी गोभर्नर नत्तावुट रुइङगेभ्सले प्रतियोगिताको उद्घाटन गरे।
सो अवसरमा थाइल्यान्डका स्व. राजा भूमिवोल अदुल्याडेजको सम्झनामा मौन धारण गरिएको थियो। छोटो उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी ४९ राष्ट्रका राष्ट्रिय झण्डा अंकित प्लेकार्ड लिएर थाइ सैनिकले मार्च पास्ट गरेका थिए। साथै प्रमुख अतिथि डेपुटी गभर्नर र आईडब्लुबीपीएफका महासचिव दातुक पाउल चोले छोटो मन्तब्य राखेका थिए।