PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

प्रिमियर लिग : चेल्सीले म्यानचेष्टर सिटीलाई उसैको मैदानमा ३-१ ले हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीले म्यानचेष्टर सिटीलाई उसैको मैदानमा ३-१ ले हरायो

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन जनाउँदै चेल्सीले प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेष्टर सिटीलाई उसैको मैदानमा ३-१ ले हराएको छ।

सिटीको मैदान एतिहाड स्टेडियममा भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा कप्तान ग्यारी काहिलले आत्मघाती गोल गरेपछि सिटी पहिलो हाफमा १-० ले अग्रता लिएको थियो। सिटीका जेसस नाभासले गरेको प्रहार काहिलले क्लियर गर्न खोज्दा गोलमा परिणत भएको थियो।

तर दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित हात पार्यो। ६० औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि आत्मविश्वासी देखिएको चेल्सीले दुई गोल थप्यो। ७० औं मिनेटमा वैकल्पिक खेलाडी विलियनले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। ९० औं मिनेटमा एडेन हाजार्डले गोल गरेपछि चेल्सी ३-१ ले विजयी भएको हो।

इन्जुरी टाइमको अन्त्यमा सिटीका सर्जियो अगुएरो र फर्नान्डिन्होले सिधै रातो कार्डको सामना गरेका थिए। डेविड लुइजलाई फल गरेका कारण अगुएरोले रातो कार्ड पाएका हुन् भने त्यसपछि विवाद उत्पन्न हुँदा फर्नान्डिन्होले सेस फाब्रेगासलाई घाँटीमा समातेपछि रेफ्रिले रातो कार्ड देखाएका हुन्।

जितपछि चेल्सी १४ खेलबाट ३४ अंक जाेड्दै शीर्ष स्थानमा कायम छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell