
आर्सनल प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। एलेक्सिस सान्चेजको ह्याट्रिक मद्वतमा वेष्टहम युनाइटेडलाई ५-१ ले पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उकलेको हो।
वेष्टहमको मैदानमा भएको खेलमा सान्चेजले १४ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका हुन्। सान्चेजले ७२ औं, ८० औं र ८६ औं मिनेटमा गोल गरेका थिए। यसअघि २४ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। अर्को गोल एलेक्स ओलेइड च्याम्वरलाइनले दोस्रो हाफमा गरे। वेष्टहमका लागि एण्डी क्यारोलले सान्त्व्ना गोल फर्काए।
जितपछि आर्सनलले १४ खेलबाट ३१ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको चेल्सीको समान खेलबाट ३४ अंक छ।
एक खेल कम खेलेको लिभरपुल ३० अंकसहित तेस्रो तथा चेल्सीसँग हारेको म्यानचेष्टर सिटी ३० अंक नै भएपनि गोलअन्तरमा चौथोमा छ।
यस्तै स्वान्सी सिटीलाई ५-० ले पराजित गर्दै टोटनहम हट्सपर पाँचौ स्थानमा उक्लेको छ। घरेलु मैदानमा टोटनहमलाई शानदार जित दिलाउन ह्यारी केन र क्रिस्टियन एरिक्सनले समान २ गोल गरे भने हेउङ मिन सनले एक गोल गरे। जितपछि टोटनहमको १४ खेलबाट २७ अंक भएको छ।
यता वाटफोर्डलाई ३-१ ले पराजित गर्दै वेष्ट ब्रोमिच अल्विओन छैटौ स्थानमा उक्लेको छ। वेष्ट ब्रोमिचलाई जित दिलाउन जोनी इभान्स, क्रिस बट र म्याथ्यु फिलिप्सले १/१ गोल गरे। वाटफोर्डका लागिए क्रिस्टियन कावासेलेले सान्त्वना गोल गरे। ८४ औं मिनेटमा रोवर्टो पायराले सिधै रातो कार्ठ पाएपछि वाटफोर्डले अन्तिम ६ मिनेट १० खेलाडीमा रहेर खेलेको थियो। जितपछि वेष्ट ब्रोमिचको १४ खेलबाट २० अंक छ।
एक खेल कम खेलेको म्यानचेष्टर युनाइेटड २० अंक नै भएपनि सातौंमा झरेको छ। युनाइेटडले आज राती आठौं स्थानको एभरटनको भ्रमण गर्दैछ।
लेस्टरको सातौं हार
साविक विजेता लेस्टर सिटीले जारी सिजन सातौं हार बेहोरेको छ। लेस्टर १४ औ चरणको खेलमा सण्डरल्याण्डसँग २-१ ले पराजित भएको हो।
तीनै गोल दोस्रो हाफमा भएको खेलमा लेस्टरका रोवर्ट हुथले ६४ औं मिनेटमा आत्मघाती गोल गरेपछि सण्डरल्याण्डले अग्रत लिएको थियो। ७७ औँ मिनेटमा जर्मेन डेफोले गोल गर्दै सण्डरल्याण्डको अग्रता दोब्बर पारे। ८० औं मिनेटमा सिन्जी ओकाजाकीले गोल गर्दै गोल अन्तर कम पारेपनि लेस्टरको लागि हार टार्न पर्याप्ट भएन।
गत सिजन शानदार प्रदर्शन गर्दै पहिलो पटिक प्रिमियर लिग च्याम्पियन बनेको लेस्टरले यस सिजन खराब प्रदर्शन गरिरहेको छ। १४ खेलमा लेस्टर ७ मा पराजित भएको छ भने जम्मा ३ खेल मात्र जितेको छ। ४ खेल बराबरी गरेको लेस्टर १३ अंकसहित अंक तालिकाको १५ औं स्थानमा छ।