काठमाडौं: लक्स कामना फिल्म अवार्डको दोस्रो संस्करणमा प्रियंका कार्कीले उत्कृष्ट सहअभिनेत्रीको उपाधीमा चित्त बुझाउन पर्यो। वडा नं ६ का लागि सर्वोत्कृष्ट अभिनेत्रीमा मनोनित भएपनि उनले क्लासिकबाट सहअभिनेत्रीको अवार्ड पाइन्।
क्लासिकबाटै नम्रता श्रेष्ठ उत्कृष्ट घोषणा भएकी हुन्। फिल्म क्लासिकमै प्रियंकाको छोटो सस्पेन्स रोल छ। फ्ल्यासब्याकमा आर्यनको पुर्वप्रेमीकाको भूमिकामा देखिन्छिन् प्रियङ्का। क्लासिकको 'यो के हो माया हो' बोलको गीतमा पनि उनको अभिनय देख्न सकिन्छ।
प्रियङ्काले अवार्ड पाएसँगै प्रश्न उठेको छ - के थोरै सट र एउटा गीतमा नृत्य गर्नु सहअभिनेत्रीको अवार्डका लागि पर्याप्त छ?
फिल्म प्रदर्शन भएको चार दिन पछि मात्र निर्माण पक्षले प्रेस सम्मेलन गरी उनको सस्पेन्स भूमिका बारे जानकारी दिएको थियो। फिल्ममा दृष्टी गुमाउन पुगेका पात्र आर्यन सिग्देल कसरी सो अवस्थामा पुगे भन्ने रहस्य खोल्नका लागि मात्र फिल्ममा प्रियंकासँग उनको सस्पेन्स रोमान्स राखिएको छ।
फिल्ममा अर्की अभिनेत्री रोमी घिमिरेको सिन प्रियंकाको भन्दा बढी छ। जसमा दर्शकले पनि उनलाई सहअभिनेत्रीको रुपमा सहजै स्विकार्न सक्छन्। अनाथालयमा नम्रतासँगै हुर्किएकी पात्र बनेकी रोमीले फिल्मको अन्त्यसम्म महत्वपुर्ण भूमिका निर्वाह गरेकी छिन्।
२०७२ मा भएको एनएफडिसी अवार्डमा फिल्म सुन्तलीबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारे पनि यो वर्षको कुनैपनि अवार्डमा उत्कृष्ट अभिनेत्री बन्न सकेकी छैनन् प्रियङ्का।