PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​सीमाङ्कन परिमार्जनपछि कुन जिल्लामा कस्तो छ स्थिति? तीन जिल्लामा बन्द कायम



सविन ढकाल

​सीमाङ्कन परिमार्जनपछि कुन जिल्लामा कस्तो छ स्थिति? तीन जिल्लामा बन्द कायम

काठमाडौँ :  सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रदेश ५ का ६ वटा पहाडी जिल्लालाई प्रदेश ४ मा सार्ने प्रस्तावपछि बुटवलमा दैनिक विरोधका कार्यक्रम भइरहेका छन्। अर्घाखाँचीमा घोषणा गरिएको अनिश्चितकालीन बन्द आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ भने पाल्पा र गुल्मीमा बन्द कायमै छ। रोल्पा र रुकुममा कुनै विरोध प्रदर्शन भएका छैनन् भने प्युठानमा विरोध प्रदर्शन भए पनि बन्द घोषणा गरिएको छैन। कुन जिल्लामा कस्तो छ स्थिति?

अर्घाखाँची  

मंगलबार राति संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रदर्शन शुरु भएको अर्घाखाँची जिल्लामा पाँचौ दिन पनि बन्द जारी रहेको छ।  यहाँ बिहान ८ बजेदेखि बन्द, दैनिक आमसभा, र्याभली, जुलुस हुने गरेका छन्। सामान्य किसिमको बन्द भएकाले अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराजरत्न पौडेलले बताए। पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेको सोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए। बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न सकेका छैनन्। बजार, उद्योगधन्दा तथा कलकारखाना ठप्प छन्। बन्दका कारण रोकिएको विद्यालयको अर्धवार्षिक परीक्षा मङ्गलबारदेखि सञ्चालन गर्न दिइने निर्णय भएको छ।

रोल्पा

सीमाङ्कन परिमार्जन गर्ने प्रस्तावसहितको संविधान संशोधन दर्ता भए पछि रोल्पा जिल्लामा आजको दिनसम्म कुनै पनि विरोधका कार्यक्रम नभएको रोल्पा जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले बताएका छन्। रोल्पामा दैनिक जीवनयापन सामान्य नै रहेको छ। 

पाल्पा 

पाल्पा जिल्लामा बुधबारदेखि आह्वान गरिएको बन्द आज पनि जारी छ। आइतबार पनि बन्दले पाल्पा प्रभावित बन्यो। विभिन्न राजनीतिक दलले बिहान ६ बजेबाट साँझ ६ बजेसम्म बन्द आह्वान गरिएको छ। दुई दिनदेखि बन्द भए पनि स्थिति शान्तिपूर्ण नै रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। 

गुल्मी 

गुल्मी जिल्लामा पनि संशोधन विधेयकको विरोधमा प्रदर्शन भएका छन्। विभिन्न राजनीतिक दलले जिल्ला बन्द समेत आह्वान गरेका छन्। यातायात, कलकारखाना, व्यापारिक केन्द्र बन्द भएपनि शैक्षिक क्षेत्र भने खुल्ला नै छ। सुरक्षा व्यवस्था कडा भएका कारण स्थिति शान्त नै रहेको एसपी भोला रावलले बताए।  

रुकुम

संशोधनमा रुकुमका केही भागलाई प्रदेश ४ मा सार्ने प्रस्ताव गरिएको छ। तर जिल्लामा कुनै पनि राजनीतिक दलले बन्द तथा विरोधका कार्यक्रमहरु आयोजना गरेका छैनन्। अहिले यस जिल्लामा यातायात, व्यापारिक केन्द्र, कलकारखाना निर्वाध चलेको डिएसपी अंगुर जिसीले जानकारी दिएका छन्।

प्युठान

प्युठानमा आइतबार बन्दको कार्यक्रम गरिएको छैन। आमसभामा विधेयकको विरोध गरिएपनि बन्दका कार्यक्रम नभएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन्। जिल्लामा हुन सक्ने गतिविधिलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाएको समेत उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell