
पोखरा : १५ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता माघको पहिलो साताबाट सुरु हुने भएको छ। आयोजक पोखराको सहारा क्लबले अइतबार कार्यक्रम मार्फत १५ औँ संस्करण माघ ४ गतेदेखि हुने जानकारी गराएको हो।
पश्चिमाञ्चलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औ आहा रारा गोल्ड कप २०७३ माघ १५ गतेसम्म पोखरा रंङ्गशालामा संचालन हुनेछ।
यस वर्ष पनि राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लब, ३ विदेशी क्लब, ३ विभागिय र आयोजकटिम सहित १२ टिमको सहभागिता हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ।
'खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साबिकको नारा अनुरुप नै प्रतियोगिताको आयोजना गर्न लागेको सहाराका अध्यक्ष अध्यक्ष वीरभद्र आचार्यले बताए।
हङकङ सहाराका अध्यक्ष दीपक गुरुङले यस बर्ष पनि भाग्यशाली एक जना दर्शकलाई एक तोलाको औँठी उपहार दिने घोषणा गरे। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले आहा रारा गोल्डकप सफल पार्न आफ्नो क्षेत्रबाट पुर्ण सहयोग गर्ने वचन दिए।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन प्रतियोगितालाई माइक्रो म्याक्स मोबाईलको सह प्रायोजन रहेको छ। १२ दिनसम्म संचालन हुने उक्त प्रसियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार ३ सय रुपैया खर्च हुने भएको महासचिव केशवराज बरालले जनाएका छन्।
कार्यक्रममा सहाराका उत्पादन सुशील लामा र लक्ष्मण जिसीलाई फुलमाला लगायर सम्मान गरियो। एनआरटि क्लबलाई बी डिभिजनबाट एक डिभिजनमा पुर्याउन दुई खेलाडीहरुको पनि महत्वपुर्ण भुमिका भएको भन्दै क्लबले सम्मान गरेको हो।
(फोटो : सहारा क्लबको फेसबुकबाट)