PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​किन मौन छन् ओली? कहाँ हरायो उनको बोली?



मनोज सत्याल

​किन मौन छन् ओली? कहाँ हरायो उनको बोली?

काठमाडौँ : सटिक राजनीतिक टिप्पणी र व्यङ्ग्य  गर्ने खुबी भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोलि कतै हराएका छन्। 
संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनु दुई दिनअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत व्यङ्ग्य हान्दै भनेका थिए – मेरो बोली अप्ठेरो पर्दा बदर हुने भारु जस्तो हैन। 

जब मंसिर १४ को राति संसदमा संशोधनको प्रस्ताव दर्ता भयो, त्यसपछि उनले अचम्मको मौनता साँधेका छन्। 

त्यसयता ओली संसद बाहेक एक मात्र सार्वजनिक समारोहमा सहभागी भएका छन्। शनिबार उनी काठमाडौँको सुखानी सहिद स्मृति प्रतिष्ठानको १३ औँ साधारणसभामा पुगे। 

ओलीको मन्तव्य सुरु हुने बित्तिकै पत्रकारहरु सतर्क भए। ओली बोल्दै गए, बोल्दै गए तर उनीहरुले समाचार बनाउने कुनै ‘कोट’ फेला पार्न सकेनन्। किनभने ओलीले संविधान संशोधनका विषयमा टिप्पणी त परै जाऔस्, सामान्य धारणा समेत राखेनन्। 

नयाँ पत्रिका दैनिकले शनिबारको कार्यक्रमको समाचारमा  लेखेको छ – विकसित राजनीतिक घटनाक्रमबारे ओलीले कुनै टिप्पणी गरेनन्।
  
१४ मंसिरको राति संविधान संशोधन प्रस्ताव दर्तापछि १५ गते एमालेले संसदीय दलको बैठक डाक्यो। तर त्यहाँ ओली आएनन्। 

उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा धारणा राखे। दुवैले एउटै जानकारी दिए – ओलीको स्वास्थ्यमा समस्या देखियो। तर उपाध्यक्ष गौतमले अध्यक्षको निर्देशन भन्दै 'संसदमा संशोधनको विरोध गर्न निर्देशन' आएको बताए। 

१६ गतेको संसदको बैठकमा अस्वस्थ भनिएका ओली तोकिएको समयमै उपस्थित भए। अन्तर्राष्ट्रिीय सम्मेलन केन्द्र परिसरमा रोकिएको गाडीबाट झरेर ठमठम हिँड्दै संसद बैठक कक्षमा पुगे। आफ्ना सांसदहरु सरह कुर्सीमा आसन ग्रहण नगरी उभिएर संशोधनको विरोध गरे।
 
सभामुख ओनसरी घर्तीले बैठक अवरुद्ध भएका कारण स्थगित भएको घोषणा गरेपछि फर्कने क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डसँग हात मिलाए। ओलीले प्रचण्डलाई – 'बोल्न त के, मुखै हेर्न मन छैन' भन्ने जवाफ फर्काएको एमाले सांसद रवीन्द्र अधिकारीले पत्रकारलाई बताए।
 
तर कांग्रेस सांसद रामहरि खतिवडाले भने प्रचण्डलाई ओलीले त्यत्रो व्यङ्ग्य नगरेको बताए। त्यतिबेला ओलीले प्रधानमन्त्री प्रचण्डलाई 'संशोधन प्रस्तावको मुखै हेर्न मन नभएको' टिप्पणी गरेको खतिवडा बताउँछन्। तर ओली संसद बैठकबाट प्रतिक्रिया नदिई बाहिरिए। 

१७ गते संसदको बैठक ३ बजेका लागि डाकिएको थियो। ओली बैठकमा आए, आफ्नो कुर्सीमा बसे। अवरोधका लागि उठे। अनि बाहिरिए, बिना कुनै प्रतिक्रिया। 


प्रधानमन्त्री हुँदाताका सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय एमाले अध्यक्ष ओलीले त्यहाँ पनि संविधान संशोधनबारे कुनै प्रतिक्रिया दिएका छैनन्। क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोलाई श्रद्धाञ्जलि दिएपछि उनको अकाउन्ट सक्रिय छैन। 

ओलीका सहयोगी राजेश बज्राचार्यले आउँदो केही दिन अध्यक्ष ओलीको सार्वजनिक कार्यक्रम नभएको पहिलोपोस्टलाई जानकारी दिए। 
 
संविधान संशोधन प्रस्ताव दर्ता गर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले धेरै पटक भेटेका थिए। ओलीले प्रस्ताव दर्ता गर्न सहमति जनाएको प्रतिक्रिया प्रचण्डले दिने गरेका थिए। तर ओली भने बैठकपछि कुन संशोधन, केका लागि संशोधन भन्दै प्रतिप्रश्न अगाडि सार्थे। 

प्रचण्डले शनिबार फेरि पनि एमालेको सहमतिमै संशोधन प्रस्ताव दर्ता गरेको बताएका छन्। 

राससका अनुसार नेकपा (माओवादी केन्द्र)को जारी पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शनिबार संशोधनमा सहमति जनाएर बाहिर आएर फरक कुरा गर्ने एमालेको प्रवृत्ति ‘दिउँसै रात पार्ने’ खालको रहेको आरोप लगाएका थिए।

आरोपहरुसहितको आक्रमणलाई प्रत्याक्रमण गर्ने बानी भएका ओली अहिले भने मौन छन्। आइतबार लगातार तेस्रो पटक संसद बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा ओलीलाई पत्रकारले घेरा हाले। अनि बोलाए – 'अध्यक्ष ज्यू, संविधान संशोधन प्रस्तावबारे तपाइँको धारणा के छ? तपाईँ किन मौन?'

तर ओलीले दायाँ बायाँ हेरे र छेउमै रहेका सांसद रामेश्वर फूयाँलतर्फ इशारा गरे। ओली नबोल्ने संकेतका साथ हात हल्लाउँदै गाडी चढे। 

ओलीको मौनताले प्रश्न उठाउँछ के प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले भने झैँ  एमालेको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको हो? 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell