PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

१० फोटोमा हेर्नुस् बडी बिल्डिङ च्याम्पियसिपमा पदक जित्ने पहिलो नेपाली महिला

१० फोटोमा हेर्नुस् बडी बिल्डिङ च्याम्पियसिपमा पदक जित्ने पहिलो नेपाली महिला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कास्य पदक जितेकी छिन्। ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टीमिटर उचाइसम्ममा कास्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन्।

थाइल्यान्डको पटायास्थित समुद्र किनारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सल हलमा भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन्। ५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते। सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे। पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचैले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए।

नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो। ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोश्रो नेपाली महिला खेलाडी हुन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन्। निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन्।

कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीया ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन्। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा ननिताले पहिलो पटक सहभागिता जनाउदै उपाधि जितेकी थिइन्। ३ पुरुषसहित ४ नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथलेटिक्स र बास्केटबल खेलेको बताइन्। क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीय स्तरको एथलेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन्।

ननिताले शारीरिक सुगठनको महिलामा नेपाललाई पदक दिलाउन सफल भएकोमा खुशी लागेको बताउँदै प्रिजजिङ राउन्ड सकिने बित्तिकै दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको बताइन् ।

‘राष्ट्रका लागि पदक जित्न सफल भएकोमा खुशी छु। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले कन्फिडेन्ट भएर खेल्छु र सक्दो राम्रो गर्ने प्रयास गर्छु भन्ने सोचेकी थिए।’ ननिताले भनिन्, नतिजा पनि त्यही अनुसार आयो।’


ट्रेन्डिङ पोस्ट

Ncell