काठमाडौं : पछिल्लो समय मेलम्ची खानेपानी आयोजना निर्माणले तीव्रता पाएको छ। सुन्दरीजल साइटबाट सुरुङ खन्ने काम लगभग सकिएको छ भने पानी प्रशोधन केन्द्रको पूर्वाधार निर्माण समेत अन्तिम चरणमा पुगेको छ।
सुन्दरीजलमा निर्माणाधीन पूर्वाधार मध्ये प्रशासनिक भवन र कन्ट्रोलर भवन बनिसकेका छन्। प्रशोधन केन्द्रअन्तर्गत पानी थिग्र्याउने ड्यामको काम १० प्रतिशत मात्रै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका निर्देशक घनश्याम भट्टराईले बताए।
सुन्दरीजलबाट खन्नुपर्ने १० किलोमिटर सुरुङमध्ये अब १६७ मिटर मात्रै बाँकी छ। सुन्दरीजल-सिन्धु एवं सिन्धु-सुन्दरीजल तर्फ गरी दुई ठाउँबाट सुरुङ खन्दै आएकोमा एकातिर चट्टान फुटाएको आवाज अर्कोतिर सुनिन थालेको छ। त्यसैले अहिले सुन्दरीजलतिर काम रोकेर सिन्धुबाट मात्रै खन्ने तयारी भैरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।
सुन्दरीजलबाट ६ किलोमिटरभन्दा बढी सुरुङ खनिएको पन्तले बताए। सिन्धुबाट ३ हजार ४ सय मिटर मात्रै खनिएको छ। त्यसैले समयको बचतका लागि पनि सिन्धुबाट खन्न सजिलो हुने उनले जानकारी दिए।
यो डिसेम्बरभित्रै सिन्धुबाट पनि सुरुङ खन्ने काम पुरा हुने निर्देशक भट्टराईले बताए।
मेलम्ची खानेपानी आयोजनाको कुल २७.५८ किलोमिटर सुरुङमध्ये अब ५.९ किलोमिटरमात्रै खन्न बाँकी छ। गत महिना आयोजनाले ७०७ मिटर सुरुङ खनेको थियो। चाडपर्वको प्रभाव र डिजेल मेशिनमा खराबी आउँदा ९ सय मिटरको लक्ष्य भेटाउन नसकेको पन्तले बताए।
कुल ८ ठाउँबाट सुरुङ खनिँदै आएकोमा सुन्दरीजलको लक्ष्य पूरा भइसकेको छ। यो महिनाभरमा सिन्धु-सुन्दरीजल खण्ड पूरा हुनेछ। त्यस्तै आयोजनाको मुहान-अम्बाथान एवं अम्बाथान-मुहानमा चालू काम पनि यो महिना सकिनेछ। यो सेक्सनमा अम्बाथानबाट मुहानतिर २० मिटर र मुहानबाट अम्बाथानतर्फ २९ मिटर मात्रै खन्न बाँकी छ।
जनवरीदेखि बाँकी चार स्थानबाट मात्र सुरुङ खन्ने काम चालु हुने आयोजनाले जनाएको छ। आउँदो वर्षको दसैंसम्ममा मेलम्चीको पानी काठमाडौँका धारामा झारिसक्ने आयोजनाको लक्ष्य छ।