PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

‘किपर होस् किरणजस्तो, खेलाडी होस् सुजल जस्तो’



पहिलोपोस्ट

‘किपर होस् किरणजस्तो, खेलाडी होस् सुजल जस्तो’

धनकुटा : मलेसियामा सम्पन्न प्रथम एएफसी सोलिडारिटी कप फुटबलमा नेपाललाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका सुजल श्रेष्ठ र किरण चेम्जोङलाई गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएको छ।

राष्ट्रिय टोलीका गोलरक्षक चेम्जोङ र निर्णायक गोलकर्ता खेलाडी श्रेष्ठको सम्मानमा जिल्लाबासीका तर्फबाट अइतबार अभिनन्दन गरिएको हो। किरण, सुजल बृहत् नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिले दुवै खेलाडीलाई नगद ७५/७५ हजार पनि प्रदान गर्‌यो। चेम्जोङ र श्रेष्ठलाई गाडीमा राखेर राष्ट्रिय झन्डासहित नगर परिक्रमा पनि गराइयो।

सयौँ मानिसको सहभागितामा बसपार्कबाट ‘किप्पर होस् किरणजस्तो, खेलाडी होस् सुजल जस्तो’ लगायत नारा लगाउँदै सुरु भएको पदयात्रा हुलाक टोल, बीचबजार, भीमनारायण चोक, हटियालगायत क्षेत्रको परिक्रमापछि टुँडिखेलमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा सांसद अञ्जना ताम्ली, प्रजिअ प्रेमप्रकाश उप्रेती, आयोजक समितिका अध्यक्ष शम्भु प्रधान लगायतले सम्मान गरे। चेम्जोङ राजारानीका र श्रेष्ठ धनकुटा बजारवासी हुन्।

प्रतियोगिताको फाइनलमा सुजलको निर्णायक गोलको मद्वतमा नेपालले मकाउलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। गोलरक्षक चेम्जोङले सेमिफाइनलमा ट्राईबेकरमा लाअस विरुद्ध दुई पेनाल्टी प्रहार रोकेका थिए।

यही जितसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक मात्र नभएर पहिलो पटक महादेशीय उपाधि पनि उचालेको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell