PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

ओलीले भने- ‘घाँटी निमोठ्न खोज्ने, निमोठ्यो है भन्न नमिल्ने?’



पहिलोपोस्ट

ओलीले भने- ‘घाँटी निमोठ्न खोज्ने, निमोठ्यो है भन्न नमिल्ने?’

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ सम्पादक र पत्रकारहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गर्दै पार्टीको अडान स्पष्ट गरेका छन्।
 
राजधानीको एक होटलमा साँझ डिनर मिटिङ गरेका ओलीले संविधान संशोधन दर्ता पछि राख्दै आएको मौनता तोडेका हुन्।
 

के भने त ओलीले बैठकमा?

गोरखापत्र दैनिकका अनुसार ओलीले बैठकमा संविधान संशोधन प्रस्ताव संसदमा छलफल योग्य नै नभएको बताए। उनले भने, '५ नम्बर प्रदेश टुक्र्याउने माग कसको हो? यसले के गर्छ? ५ नम्बर प्रदेशका जनताले हामी छुट्टिँदैनौ भनेर शान्तिपूर्ण रुपमा ध्यानाकर्षण गराइरहेकोमा त्यसलाई वितण्डा भनेर जनताको अपमान गर्न मिल्छ?'
 
कान्तिपुर दैनिकका अनुसार ओलीले प्रदेशको सीमाङ्कन हेरफेरको अधिकार वर्तमान रुपान्तरित संसदलाई नभएको बताएका छन्। उनले सर्वोच्च अदालतले समेत कारण देखाउ आदेशका लागि छलफलमा डाकेको अवस्थामा रातको समयमा सीमाङ्कन प्रस्ताव दर्ता गरेकोमा विरोध जनाए।
 
ओलीले छलफलमा २ नम्बर प्रदेश निर्माणका बेला चित्त नबुझ्दा नबुझ्दै पनि कम्प्रोमाइज गरेको उल्लेख गर्दै तर्क गरेका छन्, '२ नम्बर प्रदेश तराई मात्रको हुन्छ अरु किन हुँदैन भनिँदै छ, २ नम्बर प्रदेशलाई सिरानी हालेर ५ नम्बर प्रदेशलाइ (पहाडबाट) छुट्याउन हुन्छ भन्ने तर्क गरिँदैछ, त्यसपछि १ नम्बर र ७ नम्बरलाई पनि किन हुँदैन भन्ने तर्क आउँछ।'
 
ओलीले प्रधानमन्त्री प्रचण्डलाई वितण्डकारीको आरोप समेत लगाएका छन्। '५ नम्बर प्रदेशबाट छुट्टिन चाहँदैनौँ भनेर सरकारलाई ध्यानाकर्षण गराउन शान्तिपूर्ण रुपमा उत्रिका जनतालाई जिन्दगीभर वितण्डामात्र गरेको मान्छेले वितण्डकारी भन्ने? वितण्डकारी त पुष्पकमल दाहालजी हो। मुलुकमा जातीय, सामुदायी भावना भड्काउने उहाँ हो। ५ नम्बर प्रदेशका मान्छेले बम त पड्काएका छैनन् नि, मान्छे मारेका त छैनन् नि।'
 
नागरिक दैनिकका अनुसार एमाले अध्यक्ष ओलीले सीमाङ्कन हेरफेरलाई लक्षित गर्दै 'देश केक होइन टुक्राटुक्रा पारेर बाँड्न' भनेका थिए। उनले आफ्नो संविधान संशोधन विरुद्धको अडानमा यथावत् रहेको समेत बताएका छन्। अनि भनेका छन्, 'मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहाँ चिप्लने खालेको छैन।'
 
उनले सरकार गठन भएको चार महिनामा केही काम नभएको समेत बताएका छन्। 'यो चार महिनामा सरकारले एउटा पाइलो चाल्यो, बरु यो सरकारले नदुखेको टाउको डोरी लगाएर दुखाउने काम गरेको छ।'
 
नयाँ पत्रिका दैनिकले केपी ओलीले राखेको धारणा हाइलाइटको रुपमा जस्ताको तस्तै राखेको छ। जसमा ओलीले भनेका छन्, ‘पारिबाट एउटा छोरो आयो, बिहे हुने भयो। पारिबाट एउटी छोरी आई, बिहे हुने भयो। बेलुका फर्कंदा त पर्समा नागरिकता छ। बिहे दर्ता भयो नागरिकता पायो। जन्मदर्ताको आधारमा नागरिकता पाउने भए पो केही वर्ष लाग्थ्यो। त्यहीँ भारतमा पनि बिहे गरेको सात वर्षपछि मात्र नागरिकताको प्रक्रिया चल्ने व्यवस्था छ। तर यहाँ त हातहातै चाहियो। त्यति दिँदा पनि असन्तुष्टि छ। अचम्म छ।'
 
त्यस्तै ओलीको अर्को धारणा पनि राखिएको छ, 'भारतसँग हामीलाई कुनै दुर्भावना छैन। छिमेकी हो, प्रगति गरोस् शुभकामना छ। तर हाम्रो विषयमा निर्णय गर्ने अधिकार हामीलाइ दिनुपर्छ। घाँटी निमोठ्न खोज्ने, निमोठ्यो है भन्न नमिल्ने, लुगा भित्रबाट खुसुक्क हात हालेर चिमोट्ने तर ऐया! दुख्यो भन्न नपाउने। यस्तो कहाँ हुन्छ।'
 
राजधानी दैनिकले ओलीको धारणाको केही भागलाई हाइलाइट गरेको छ। जसमा उनले भनेका छन्, 'प्रधानमन्त्री कोको सँग साँठगाँठ गर्दैछन् भन्ने जानकारी हामीलाई छ।'
 
'दोस्रो संविधानसभाको चुनाव गर्दा पनि ३३ दलले बहिष्कार गरेका थियो, भयो। अहिले पनि सरकारले घोषणा गरे चुनाव हुन्छ। संविधान संशोधन बिना चुनाव हुँदैन भन्ने धारणा ब्याकमेलिङ हो।'
 
नेपाल समाचारपत्रले ओलीको राष्ट्रियताबारेको धारणा लेखेको छ। ‘राष्ट्रियताबारे विषयमा कसैसँग पनि छलफल हुँदैन ओलीले भने, 'अनुत्पादक लगानीकर्ता र रोजगारदाताले लगानी गरेर ल्याइएको संविधान संशोधन कुनै हालतमा पास हुन दिँदैनौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell