PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

परराष्ट्रमन्त्री भन्छन् : कांग्रेसलाई दलाल भनेर प्रचार गर्न एमालेका २ हजार कार्यकर्ता खटिए



रमेश वाग्ले

परराष्ट्रमन्त्री भन्छन् : कांग्रेसलाई दलाल भनेर प्रचार गर्न एमालेका २ हजार कार्यकर्ता खटिए

काठमाडौँ : कांग्रेस नेता प्रकाशशरण महतले कम्युनिष्टको प्रोपोगाण्डामा परेर पार्टीका कतिपय कार्यकर्ता उनीहरुको सहयोगी बन्ने गरेको बताए।
नेपाल विद्यार्थी संघले आयोजना गरेको विद्यार्थी प्रशिक्षण कार्यक्रममा सहभागी संघका पदाधिकारीलाई प्रशिक्षण दिँदै भने 'असत्य कुरालाई सत्यजस्तै प्रस्तुत गर्ने कम्युनिस्ट शैलीबारे जानकार हुनुस्।'

उनले कांग्रेस कार्यकर्तामा अध्ययन गर्ने, आधिकारिकता खोज्ने भन्दा पनि अरुका फेसबुक स्टायटस हेरेर धारणा बनाउने गरेकाले आफूलाई चिन्ता बढेको बताए।

झुटलाई दोहोर्‍याएर सत्यजस्तै प्रस्तुत गर्दै स्थापित गराउन खोज्नु कम्युनिष्टको लिटरेचर भएको उनले दावी गरे। 'झुट कुरालाई सय पटकसम्म दोहोर्‍यायो भने त्यो सत्य ठहर्छ भन्ने लेनिनबाट प्रभावित हाम्रो देशका कम्युनिष्टको प्रोपोगाण्डाबाट तपाईहरु सिकार मात्र हुनुहुन्न, कतिपय अवस्थामा सहयोगी पनि हुनुभएको छ।'

परराष्ट्रमन्त्री समेत रहेका महतले संविधान संशोधनको विधेयकबारे प्रमुख प्रतिपक्षी दल एमालेले सुरु गरेको आन्दोलनलाई प्रोपोगाण्डा भन्दै कांग्रेसकै नेता कार्यकर्ता समेत प्रभावित भइरहेको बताए।

'हिजो संविधान बन्नु अघि कांग्रेस-एमालेले संवैधानिक समितिमा प्रस्तुत गरेको सात प्रदेशको खाका अनुरुप नै अहिले संविधान संशोधन प्रस्ताव लगिएको हो,' महतले भने, 'अहिले कतिपय हाम्रै साथीहरु र तपाईँ पढेलेखेका विद्यार्थीहरु समेत त्यही भ्रममा अल्मलिरहनुभएको छ।'

उनले हिजो एमालेले त्यही प्रदेश प्रस्ताव प्रस्तुत गर्दा राष्ट्रवादी भएको अहिले सरकारले गर्दा कसरी राष्ट्रघाती भयो भनेर प्रश्न गर्न आग्रह गरेका थिए ।

उनले एमाले र उसका दुई हजार बढी समर्थक कांग्रेसलाई दलाल भन्न र एमालेलाई राष्ट्रवादी बनाउन फेसबुक र ट्विटरमा एकसाथ सक्रिय रहेको भन्दै त्यतिकै भरमा देशभर माहौल बनेजस्तो भ्रम फैलाएको दावी गरे।

महतले बुटवलमा भावनात्मक रुपमा मास जम्मा भएको भन्दै अहिले प्रस्तुत भएको संघीयताको खाका र पहिले प्रस्तुत भएको संघीयताका खाकामा तात्विक भिन्नता नभएको बताए।

उनले हिजो सँगै बसेकाहरुले हामी सँगै बस्छौ भन्नु स्वभाविक भएको भन्दै त्यही कुरालाई एमालेले भोटको राजनीति बनाउन खोजेको बताए।
उनले एमाले र ओलीको विगतबारे पनि अध्ययन गर्न आग्रह गर्दै त्यसबाट नै उनी राष्ट्रवादी वा कतै परस्त हुन भन्ने निषकर्ष निकाल्न नेविसंघका नेतालाई सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell