PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्सामा तस्कर सक्रिय, ८४ लाख मूल्य बराबरको दाल सहित ६ जना पक्राउ



राधेश्याम पटेल

पर्सामा तस्कर सक्रिय, ८४ लाख मूल्य बराबरको दाल सहित ६ जना पक्राउ

वीरगन्ज :

  • कृषि विकास बैंकबाट ४० लाख मूल्य बराबरको सुनचाँदीका गहना चोरी
  • नगर प्रहरीको अपहरण
  • ठूलो परिमाणमा भारतबाट तस्करी गरी ल्याइएको दाल बरामद
पर्सामा पछिल्ला दिन भएका आपराधिक घटना हुन् यी। तस्कर गिरोह सक्रिय भएको यी घटनाले देखाउँछन्।
 
प्रहरीले गोप्य सूचनाका आधारमा आज जानकीटोलाबाट ८४ लाख मूल्य पर्ने मासको दालसहित ६ जना चालक समाउनुको साथै ट्रयाक्टर पनि नियन्त्रणमा लिएको छ। भन्सार छली गरी ६ वटै भारतीय ट्र्याक्टरमा लोड गरी नेपालतर्फ ल्याउँदै गर्दा जानकी टोला–९ स्थित हनुमान मन्दिर नजिकबाट दाल तस्करीका गिरोह पक्राउ परेका हुन्।
 
दालको ट्रयाक्टरसहित पक्राउ पर्ने ६ जना मध्ये २ जना नेपाली र ४ भारतीय रहेका छन्। नेपाली चालकहरुमा पर्सा जानकीटोला गाविस–९ का प्रयाग साह र पर्साकै घोडदौरापिपरा–७ का २० वर्षीय दिनानाथ यादव छन्।
 
यस्तै भारतीयहरुमा विहारको बेतीया थानाको इनर्वा गाउँका ३० वर्षीय शिव आश्रय राम, २२ वर्षीय चन्द्रमोहन राम, ३३ वर्षीय मणिलाल पटेल, ३० वर्षीय रियाजुल गद्धी रहेका छन्। तस्करहरुले बिना कागजपत्र अवैध भारतीय ४२ हजार किलो दाल नेपाल भित्र्याउन खोजेको पर्सा प्रहरी प्रमुख गोविन्दकुमार साहले जानकारी दिए।
  
तस्करहरुले बी आर २२ जी ८८६५, बी आर २२ जी ४३६३ बी आर २२ जी ६८३२, बी आर २२ एफ ७१११, बी आर २२ जी ८३१९ र नम्बर प्लेट नभएको अनटेस्ट ट्रयाक्टर प्रयोग गरेका थिए।
 
पक्राउ परेका चालकहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान मध्य क्षेत्रीय कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell