काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र सत्तापक्षीय नेताहरुको व्यवहारको विरोध जनाएको छ। अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समिति बैठकले ‘सरकारको नेतृत्वमा रहेका दलका कतिपय नेताहरु र सत्तापक्षीय दलहरुसहित सरकारका कतिपय पक्षबाट आएका अभिव्यक्ति तथा व्यवहारप्रति बैठकले विरोध' जनाएको हो।
आइतबार राष्ट्रपतिको आयोजनामा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले 'मिस्टर चुप लाग्नुस्' भन्दै टिप्पणी गरेको समाचार नेपाल समाचारपत्रले सार्वजनिक गरेको थियो।
समाचारका अनुसार सीमाङ्कन हेरफेरका विषयमा कुराकानीको क्रममा ओलीले हस्तक्षेप गरेपछि देउवाले 'ओलीलाई मिस्टर चुप लाग्नुस्' भनेका थिए।
एमालेले शान्तिपूर्ण र संयमित रुपमा भैरहेको आन्दोलनलाई वितन्डाको संज्ञा दिएको तथा राजनीतिक मतभेद र द्वन्द्व बढाउने र नेपाली जनताको साम्प्रदायिक सद्भावनालाई उत्तेजित बनाएर खल्बल्याउन सरकारको नेतृत्व लागेको आरोप लगाएको छ।
आन्दोलन सशक्त पार्ने
नेकपा एमाले सडक र संसदको अवरोधलाई थप सशक्त बनाउने समेत निर्णय गरेको छ। विधेयकका विरुद्धमा संसद भित्र र बाहिर जारी विरोध तथा आन्दोलनलाई निरन्तरता दिँदै विधेयकका विरुद्ध केन्द्रीय तथा स्थानीय स्तरमा समेत प्रभावकारी र देशव्यापी बनाउने जनाएको छ।एमालेले राजधानी र ५ नम्बर प्रदेशमा विरोध प्रदर्शन गर्दै आएको छ। एमालेका युवा तथा विद्यार्थी भ्रातृ संगठनले सोमबार भारतीय दूतावास घेर्दै चर्का नाराबाजी समेत गरेको छ। त्यसैगरी विधेयकको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।
एमालेले आफ्नो नेता र कार्यकर्ताको घर तोडफोड र आगजनीको समेत घटना भइरहेको भन्दै भत्सर्ना गरेको छ। 'राष्ट्रविरोधी विधेयक फिर्ता गरी संवाद र सहमतिको माध्यमबाट समस्याको हल गर्दै अबिलम्ब निर्वाचनको वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ', एमालेको निर्णयमा भनिएको छ।
सम्बन्धित समाचार
एमालेले 'भारत' को नाम नलिई भन्यो- आन्तरिक मामिलामा हस्तक्षेप नगर