काठमाडौं : जासुसी उपकरणसहित नेपाल आएर नेपाली बैंकको एटिएमबुथबाट एटिएम पिन नम्बर र एटिएम डाटा चोरी गरी रकम निकाल्ने ३ रोमानियन नागरिक पूर्पक्षका लागी जेल चलान भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोप्य क्यामरा, लगायतका जासुसी उपकरणसहित पक्राउ गरेको घिता हुजुम,इसोफ मोक्राउ र एलेक्स क्रिष्टियनलाई उच्च अदालत पाटनको बाणिज्य इजलासले सोमबार पूर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।
पर्यटन भिषामा नेपाल आएर दरवारमार्ग र ठमेल क्षेत्रमा रहेका बैंकको एटिएम बुथमा जासुसी उपकरण जडान गरी पिन नम्बर र डाटा चोरी गरी पैसा निकाल्न सक्रिय थिए ।
नेपाली ग्राहकको पैसा हराउन थालेको सूचनाको आधारमा अनुसन्धानमा खटिएको ब्यूरोको टोलीले उनीहरुलाई कात्तिक २७ मा पक्राउ गर्दा उनीहरुको साथबाट १० हजार युरो, २६ लाख पर्ने घडी, ३ लाख नेपाली रुपैंयासहित डाटा र पिन नम्बर चोरीमा प्रयोग हुने उपकरण फेला परेको थियो ।