PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

नेविसंघमा उमेर हद विवाद : देउवा अलमलमा, पौडेल विपक्ष, सिटौला पक्षमा



पहिलोपोस्ट

नेविसंघमा उमेर हद विवाद : देउवा अलमलमा, पौडेल विपक्ष, सिटौला पक्षमा

काठमाडौं : नेपाल विद्यार्थी संघभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उमेर हद लागु गर्ने कि नगर्ने भन्ने विवाद चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार शुरु भएको संघको केन्द्रीय समितिको बैठकमा स्ववियु निर्वाचनको उम्मेदवारको उमेरहदको विषयले प्रवेश पाएको हो । 

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रस्तावमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उमेर हद तोक्ने विषयमा विद्यार्थी संगठनसँग छलफलपछी उमेर हद तोक्ने गृहकार्यमा लागेको छ ।

बैठकस्रोतका अनुसार पार्टीभित्र तेस्रोधारको रुपमा स्थापित हुन संघर्षरत कृष्णप्रसाद सिटौला समूह उमेरहदको पक्षमा उभिएको छ भने उमेर हद लाग्दा आफ्ना समूहका अधिकांश विद्यार्थी नेता उम्मेदवार हुन नपाउने देखेपछी रामचन्द्र पौडेल समुह त्यसको विपक्षमा उभिएको छ ।
काठमाडौं उपत्यकाको क्याम्पस इकाइमा खासै पकड नभएकाले शेरबहादुर देउवा समुहका विद्यार्थी नेताले उमेर हदबारे खासै चासो देखाएका छैनन् ।

उपत्यकाका अधिकांश क्याम्पस इकाइको नेतृत्वमा पौडेल समुह निकट विद्यार्थी छन् । उमेर हद लगाउने हो भने उनीहरु आगामी निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित हुनसक्ने भय पौडेल समुहमा देखिन्छ । उता उमेर हद ल्याएर पौडेल समूहलाई कमजोर बनाएर उपत्यकाका क्याम्पसमा आफ्नो प्रभाव बढाउने दाउमा सिटौला समूह सक्रिय छ ।

पौडेल समूहले आफू निकट विद्यार्थी नेताको भेला गराएर उमेर हदको विपक्षमा जान दवाव बढाएपछि संघले केन्द्रीय समितिको बैठक डांकेको हो । संघको वर्तमान कार्यसमितिमा पौडेल समूहको उपाध्यक्ष उर्मिला थपलिया सहितका पदाधिकारी छन् । महासचिव सहित सिटौला समुहका विद्यार्थी नेता कुन्दन काफ्ले सहितको उपस्थिति छ भने संघको अध्यक्ष नयनसिंह महर पार्टी सभापति देउवा निकट हुन् ।

सोमबार बेलुकासम्म जारी बैठक मंगलवार फेरि बस्नेगरी स्थगित भएको छ । बैठकमा विवादित ११ जिल्लाको नयाँ नेतृत्व चयनको एजेन्डा समेत छलफलमा रहेका एक केन्द्रीय सदस्यले पहिलोपोस्टलाई जानकारी दिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell