PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

लोकसेवामा कुन विकासक्षेत्रबाट कति आवेदन? पुरुषभन्दा महिलाकै बढी



रासस

लोकसेवामा कुन विकासक्षेत्रबाट कति आवेदन? पुरुषभन्दा महिलाकै बढी

काठमाडौँ : लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ।
 
आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी दिइन्।
 
गत आव २०७२/०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको थियो।
 
कुल आवेदनमध्ये तीन लाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको पर्ने गरेको छ। पुरुषको भने ४६.५ प्रतिशतले आवेदन दिने गरेका छन्।
 
महिलाको पद बढी खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले सङ्ख्या पुरुषको भन्दा बढी भएको सूचना अधिकारी समेत रहेकी हुमागाईंले जानकारी दिइन्।
 
‘महिला जुनसुकै पदमा पनि आवेदन दिन पाउँछन्,’ उनले भनिन्।
 
उनका अनुसार आयोगमा आव २०७१/०७२ देखि महिलाको पुरुषको भन्दा बढी आवेदन पर्ने गरेको छ। महिलापछि अहिले आयोगमा मधेसी र पिछडिएका क्षेत्रको सहभागिता पनि बर्सेनि वृद्धि हुने गरेको छ। तर उम्मेदवार छनोटमा भने पुरुषको बढी रहेको छ।
 
आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
 
आयोगमा आवेदन सबभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट २८.८ प्रतिशत र कम सुदूरपश्चिमबाट ९.६ प्रतिशत पर्ने गरेको छ। पूर्वाञ्चलबाट २४ प्रतिशत, पश्चिमाञ्चलबाट २० प्रतिशत र मध्यपश्चिमाञ्चलबाट १६.९ प्रतिशत आवेदन पर्ने गरेको छ।
 
यसैगरी, आयोगमा १० जातिकाले बढी आवेदन दिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। तिनमा ब्राह्मण, क्षेत्री, मगर, थारु, यादव, नेवार, राई, तामाङ, तेली र दलित जाति रहेका छन् भने नेपाली, मैथिली, थारु, भोजपुरी र नेवारी मातृभाषा बोल्ने बढीले आवेदन दिने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell