
कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिली टीम चापाकोएन्सको खेलाडीको मृत्यु भएपछि फाइनल नखेले पनि चापाकोएन्सलाई कोपा सुडअमेरिका कपको उपाधि प्रदान गरिएको छ।
दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबोलले ब्राजिली माथिल्लो डिभिजनको क्लब चापाकोएन्सलाई उक्त उपाधि प्रदान गर्ने घोषणा गरेको हो।
कोलम्बियामा एथ्लेटिको नासिओनलसँग पहिलो लेगको फाइनल खेल्न जाने क्रममा भएको विमान दुर्घटनामा चापाकोएन्सका १९ खेलाडी क्लबका स्टाफ सँगै ७१ जनाको ज्यान गएको थियो।CONMEBOL otorga el título de Campeón de la #CopaSudamericana 2016 a Chapecoense: https://t.co/UTgU9ksznz pic.twitter.com/reUCoRUXQu
— CONMEBOL.com (@CONMEBOL) December 5, 2016
चापाकोएन्सससँग खेल्न लागेको अनासिओनले पनि यसअघि चापाकोएन्सलाई अवार्ड प्रदान गर्न आग्रह गरेको थियो। चापाकोएन्सलाई पुरस्कारस्वरुप २ मिलियन अमेरिकी डलर प्रदान गरिनेछ भने नासिओनललाई १ मिलियन दिइनेछ।
चापकोएन्सका उपाध्यक्ष एभान टोज्जोले उक्त निर्णयको स्वातत गर्दै न्यायपूर्ण भनेका छन्। मंगलबार पत्रकार सम्मेलनमा बोल्दै टोज्जोले भने, 'हामी पक्का थियौं कि चापे च्याम्पियन बन्नेछ। यो सुन्दर उपहार हो।'
विमान दुर्घटनामा बाँच्न सफल ५ मध्ये चापाकोएन्सका ३ खेलाडी थिए। मेडलिन विमानस्थल नजिकै भएको उक्त दुर्घटनाको बारेमा अनुसन्धान
अझै जारी छ।
कोपा सुडअमेरिकाको उपाधि जितेसँगै चापाकोएन्सले अर्को वर्ष हुने कोपा लिवरटाडोरस कपमा स्थान सुरक्षित गरेको छ। दुर्घटनाका घाइतेहरुको सहयोगार्थ आउँदो जनवरी अन्तिमा ब्राजिल र कोलम्बियाबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ।