
नयाँदिल्ली : भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्युको घोषणासँगै तामिलनाडुको सडक अहिले आँसुले भिजेको छ। ६८ वर्षको उमेरमा जयललिताको निधन भएको घोषणासँगै उनका समर्थक र सर्वसाधारण आँसु बगाउँदै सडकमा उत्रिएका छन्।
जयललिता तामिलनाडुमा आफ्नो वास्तविक नामभन्दा अम्माको नामले प्रसिद्ध थिइन्। समर्थकहरु उनलाई भगवानका रुपमा मान्छन्। फिल्मी यात्रा होस् या राजनीति, विवादले उनको साथ कहिल्यै छाडेन। उनै जयललिताको निधनमा आखिर तामिलनाडु किन शोकमा छ?
तामिलनाडुमा अम्माको रुपमा परिचित जयललिताले न्युन आय भएकाहरुका लागि नयाँनयाँ योजना ल्याइन्। उनले आफ्नो नाममा अम्मा क्यान्टिन, अम्मा स्टोर, अम्मा नुन, अम्मा तरकारी पसल, अम्मा फार्मेसीदेखि, अम्मा मिनरल वाटरसम्म बजारमा पठाइन् ।
अम्मा क्यान्टिनमा ५ भारतीय रुपैंयामै भरपेट खाना उपलब्ध हुन्छ। अम्मा ब्रान्डका पानी, तरकारी, नुन बजारका अन्य उत्पादकभन्दा ४० प्रतिशतसम्म सस्तो छ।
उनले न्युन आय भएका परिवारको छोरीको विवाहका लागि मंगलसूत्र बनाउन सुन उपहार दिने योजना कार्यान्वयमा ल्याएकी थिइन् । गरिब परिवारको विद्यार्थीका लागि साइकल, ल्यापटप वितरण गरेकी थिइन् ।
निम्न वर्गका नागरिकको हितमा योजना ल्याएकाले उनी ती सामु भगवान समान थिइन्।
नाटकीय यात्रा
कर्नाटकको मैसुरमा ब्राम्हण परिवारमा जन्मिएकी जयललिताले २ वर्षको उमेरमा बाबु गुमाएकी थिइन्। घर चलाउने खर्च जुटाउन अभिनय क्षेत्रमा प्रवेश गरेकी उनकी आमाले उनलाई १५ वर्षको उमेरमा फिल्मी पर्दामा प्रवेश गरेकी थिइन्। फिल्मीयात्रामा उनी पर्दामा पहिलोपटक स्कट लगाउने अभिनेत्री बनेकी थिइन् ।फिल्मी पर्दाको जोडी एमजी रामचन्द्रनले नै उनलाई राजनीतिमा ल्याएका थिए। सन् १९८२ मा अन्नाद्रमुक पार्टीबाट राजनीतिमा आइन्। सन् १९८७ मा रामचन्द्रनको निधन निधनपछि जयललिताले रामचन्द्रनको राजनीतिक विरासत धान्दै सन् १९९१ मा तामिलनाडुको पहिलो महिला मुख्यमन्त्री बनिन्।
राजनीतिक यात्राको प्रारम्भसँगै उनीविरुद्ध गम्भीर षड्यन्त्र शुरु भएको थियो। उनको हत्या योजना समेत बनेको थियो। धन्न उनी जोगिइन्। सत्तारोहणसँगै उनीमाथी भ्रष्टाचार आरोपको शृंखलानै शुरु भयो।
सन् २००१ र १०१४ मा २ पटक पदनै छाड्नुपर्यो। दुबै पटक उनले नाटकीय रुपमा पुन राजनीतिमा आफ्नो प्रभाव फर्काउन सफल भइन्।
सन् २००१ मा दोस्रो पटक मुख्यमन्त्री बने पनि उनी लामो समय पदमा बस्न पाइनन्। आपराधिक मुद्धा लागेकाले मुख्यमन्त्रीको पदमा बस्न अयोग्य भन्दै अदालतले आदेश दिएपछि उनले पद छाडिन्। सन् २००३ मा उनी पुन मुख्यमन्त्री भइन्।

२०११ मा उनी तेस्रो पटक मुख्यमन्त्री बनिन्। उनलाई राजनीतिक सफलतासँगै विवादले समेत पच्छ्याइरहेकै थियो। सन् २०१४ मा अबैध सम्पत्तिको आरोपमा उनलाई ४ वर्षको कैद सजाय सुनाइयो। उनले हार मानिनन्। सन् २०१५ मा सफाइ पाएर पुन उनी राजनीतिमा फर्कन सफल भइन्।
सन् २०१४ मा लोकसभा निर्वाचनमा सबैतिर भारतीय जनता पार्टी र नरेन्द्र मोदीको लहर चले पनि तामिलनाडुमा भने त्यसको बलियो प्रभाव देखिएन। विधान सभाको ३९ सिटमा ३७ सिटमा जयललिताको पार्टी विजयी भएको थियो।
दैनिक भाष्कर र एबिपी न्युजको सहयोगमा। तस्विर : एविपिलाइभडटइन