
- झलक सुवेदी-
यता समग्र राजनीति र अर्थनीतिमा अब कांग्रेस र एमालेमा आधारभूत भिन्नताहरु छैनन्। तैपनि कांग्रेसको राजनीतिमा अझै दक्षिणपन्थी रुझान देखिन्छ। अझ भनौँ बजारमुखी रुझान देखिन्छ।
अनि एमालेमा भने पपुलिस्ट रुझान देखिन्छ। एमालेको अहिलेको राजनीति त्यसैले गाइड गरिरहेको छ।
पहिलो, एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई छ- कांग्रेसले हामीलाई धोका दियो। त्यसको सिधा अर्थ मलाई प्रधानमन्त्रीबाट जबर्जस्ती हटाइयो भन्ने पीडा हो।
अनि एमाले र केपी शर्मा ओलीको पनि राजनीति आउँदो निर्वाचनमा सबैभन्दा ठूलो पार्टी हुने भन्ने छ। अब कांग्रेसले आफ्नो प्रमुख प्रतिपक्षीलाई साइजमा राख्न सहायक राजनीतिक दललाई सहकार्यमा लिने बाटो राज्यो जसले गर्दा एमालेले यतिबेला खतरनाक बाटो रोजेको छ। त्यो भनेको पुपलिस्ट राजनीतिको हो।
दोश्रो, नेपाल बहुसंख्यक खस आर्य भएको देश हो। खाली सत्ता वा विभिन्न संरचनामा प्रभावका दृष्टिले मात्र होइन कि जनसंख्याको बनोटका हिसाबले पनि भएकाहरु मध्येको बहुसंख्या खस आर्यको छ। त्यो खस आर्य र पहाडभित्र एमालेले भय उत्पन्न गराएको छ।
भारतलेले मधेस खान लाग्यो वा लैजान लाग्यो भनेर भनिएको छ। मधेसी बोल्यो कि यो नेपाली होइन भारतीय हो भन्ने खालको मनोविज्ञान निर्माण गराएको छ।
हरेक मधेसीले नेपाली नै हुँ भनेर प्रमाणित गर्नुपर्ने अवस्था छ। जसरी भारतमा मुस्लिमहरुले म पाकिस्तानी होइन भनेर भनिरहनुपर्ने बाध्यता सिर्जना गरिन्छ। जसरी अमेरिकामा मुस्लिम र काला जातिकाहरुले केही ढंगले हामी अमेरिकी नै हौँ भनेर पुष्टि गरिरहनुपर्ने बाध्यता सिर्जना गरिन्छ।
नेपालमा अहिले के गर्न थालियो भने म त नेपाली हुँ, रंग मात्र कालो हो भनेर भनिरहनुपर्ने अवस्था बन्दैछ। मधेसीले राजनीतिक मुद्दा वा प्रश्न उठायो कि भारतीय भनिहाल्ने खालको वातावरण बनाइएको छ, जुन भयको वातावरण हो।
अहिले अल्पसंख्यकहरुले आफूलाई जस्टिफाइ गरिरहनु पर्ने अवस्था छ- होइन, हामी इण्डियन होइन भनेर। अनि बहुसंख्यकहरुले भारतले तराई वा नेपाल खानै खोजेको वा लैजानै खोजेको जस्तो भय सिर्जना गरियो।
तथ्याङ्क र पछिल्लो निर्वाचन परिणाम हेर्ने हो भने नारायणी नदीबाट पश्चिम कर्णालीसम्मको तराई जनसंख्यामा २० प्रतिशत मात्र मधेसी जनसंख्या छ। त्यो २० प्रतिशत जनसंख्या मध्ये २० प्रतिशत मात्र मधेसकेन्द्रित दलका मतदाता छन्। जबकि बाँकी मतदाता एमाले, कांग्रेस र माओवादीकै छन्। आफ्नै मतदातालाई, नेता र कार्यकर्ता एमाले के भन्दै छ भने – 'मधेसी हो, त्यसैले भारततिर मिल्न खोजेको छ' यस्तो गरिँदैछ। तराई भारतलाई बुझाउन खोजिँदैछ भनेर भय सिर्जना गरिएको छ। त्यो एउटा फासिजमको अभ्यास हो।
विश्वभर अहिले पपुलिस्ट पोलिटिक्स जुन आइराखेको छ त्यसलाई एमालेले अभ्यास गरिरहेको छ। त्यो अभ्यास खतरनाक हुन्छ।
एमालेले निर्वाचन केन्द्रमा राख्दा पनि त्यसो गर्न जरुरी थिएन। उसको आफ्नै संगठन थियो। अरु राजनीतिक मुद्दाहरु छँदै थियो।
जसरी प्रदेश विभाजन वा संघीयतामा जान हुँदैन भनेर केपी शर्मा ओलीको धारणा आइराखेको छ, संघीयताले एकतालाई कमजोर बनाउँछ भन्ने धारणा आएको छ। राजनीतिमा यस्तो भन्न पाइन्थ्यो। तर तराई भारतले लिन्छ वा तराई भारतले चलखेल गरेर लैजान खोजेको हो भनेर मधेसीलाई विश्वास गर्न सकिन्न भन्न पाइन्न।
जबकि मधेसमा कांग्रेस र एमालेको मतदाता ६० प्रतिशतभन्दा बढी मधेसी समुदायका छन्। अनि त्यसलाई विश्वास गर्न पर्छ कि पर्दैन? त्यसलाई समेत अविश्वास गर्ने र पहाडेहरुमा भयको श्रृजना गर्न जुन राजनीति छ यो बडो खतरनाक छ।
तर यसको लक्ष्य स्पष्ट छ – आउँदो निर्वाचन।
...
मधेसकेन्द्रित दलहरुको सोचमा उनीहरुले नेपालको स्थायी संरचना सेना, प्रहरी, कर्मचारी र राजनीतिक संरचना छ, कहीँ पनि नेतृत्व पाउन सक्दैनन् भन्ने छ। त्यस्तो अवस्थामा मधेसी पहिचानमा खतरा देख्छ्न।
नेपालमा पहाडे मुलुकको मान्छे नै नेपाली हो भन्ने मानसिकता छ जुन भनेको नेपाली भाषा बोल्ने, पहाडमा बस्ने यो खालको जतिलाई नेपाली मानिन्छ। मधेसीलाई नेपाली नमान्ने खालको मनोविज्ञान माथिदेखि तलसम्म छ।
मधेसमा विगतमा जमिन्दारहरुको भूमिका थियो। उनीहरुलाई केवल सत्ता चाहिएको थियो। सत्तासँग वा दलहरुसँग अथवा राजासँग साँठगाँठ गरेर आफू शक्तिमा जाने र तलका जनतालाई दमन गर्ने भैराखेको थियो।
अब मध्यम वर्ग विकास भयो। मध्यम वर्ग भनेको पढेलेखेको, जागिर, व्यापार गरेर विभिन्न ढंगले आर्जन गर्ने मध्यम वर्ग विकास भयो। त्यसले आफूमाथि केन्द्रीय संरचनामा विभेद भएको महसुस गर्यो।
उस्तै खालका मानिसको प्रमोसन, सरुवा र उस्तै खालका मानिसको पहुँच देख्यो। मधेसी मन्त्रीले उसलाई हेर्ने दृष्टिकोण र पहाडे मन्त्रीले उसलाइ हेर्ने दृष्टिकोण र पाउने सहयोगमा भिन्नता अनुभूति गर्न थाल्यो। त्यसले गर्दा मधेसमा फरक आइडिन्टिटी देखाउने चाहना भयो। हामी मधेसी हौँ तर नेपाली हौँ भन्ने मनोभाव विकास भएको छ। त्यसको व्यवस्थापन नै मधेसी दलको मूल चाहना देखिन्छ।
तर त्यसमा राजनीतिक इन्ट्रेस्ट भने छँदैछ। उपेन्द्र यादवहरुले आफूलाई राष्ट्रिय दलको रुपमा लैजाने प्रयास गरिरहेका छन्। राष्ट्रिय व्यक्तित्व र समग्र हिमालको पनि पहाडको पनि नेता हुन्छ भनेर अभ्यास गरिराखेका छन्।
अरु दलहरु भने क्षेत्रीय स्तरमा सीमित छन्। यस्तोमा ती मधेसी दलहरुको पनि राजनीतिक इन्ट्रेस्ट भनेको निर्वाचन नै हो। दुई नम्बर क्षेत्रका राजनीतिक दल र तिनका मानिसहरुमा त्यो क्षेत्रको राजनीति आफ्नो पक्षमा पार्ने प्रयास छ। उनीहरुको पनि अहिलेको राजनीतिक अभिष्टको केन्द्र निर्वाचन नै देखिन्छ।
समग्रमा अहिलेको राजनीति निर्वाचन केन्द्रित भैराखेको हुँदा अहिले केही राष्ट्रिय मुद्दाहरु आउँदो निर्वाचनसम्म लतारिएर जाने देखिन्छ।