PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नेविसंघको एकसुत्रीय एजेण्डा : जसरी पनि स्ववियु चुनाव, उमेरहदमा असहमति



रमेश वाग्ले

नेविसंघको एकसुत्रीय एजेण्डा : जसरी पनि स्ववियु चुनाव, उमेरहदमा असहमति

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले 'जसरी पनि स्वतन्त्र विद्यार्थी युनियन चुनाव' एजेण्डा पारित गरेको छ। हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकले विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि आफ्ना अडान राख्ने तर चुनाव प्रभावित हुन नदिने निर्णय गरेको हो।

'स्वतन्त्र विद्यार्थी युनियन चुनावमा 'उमेर हद लगाउन' हुँदैन भन्ने साथीहरुको जोड थियो,' नेविसंघ महामन्त्री सरोज थापाले भने, 'तर हामीले स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन उमेरका विषयमा रहेका अडान छोडेर हद लगाउन नपर्ने विधिका लागि त्रिभूवन विश्वविद्यालयलाई आग्रह गर्ने तयारीमा लागेका छौं।' थापाले त्रिभुवन विश्वविद्यालयले सेमेस्टार प्रणाली विस्तारित गरेमा उमेर हदको विषय गौण हुने बताए।

अर्का महामन्त्री कुन्दराज काफ्लेले भने नेविसंघले उमेर हदको अडान कायम राख्ने तर त्यही कारण स्वतन्त्र विद्यार्थी चुनाव प्रभावित हुन नदिने बताए। 'अझै पनि एक पटकका लागि हामी स्वतन्त्र विद्यार्थी युनियन चुनावमा उमेर हद लगाउनु हुँदैन भन्ने पक्षमै छौं,' काफ्लेले भने, 'तर त्यसलाई नै अडान राखेर हामी चुनाव प्रभावित हुन दिँदैनौं उमेर हद लागू हुन्छ भने पनि हामी समयमै स्वतन्त्र विद्यार्थी चुनावका पक्षमा उभिन्छौं।'
हिजो सुरु बैठकमा प्रशिक्षणका लागि पुगेका पार्टी केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतकै उपस्थितिमा नेविसंघ काठमाडौका अध्यक्ष मनोज बैद्यको नेतृत्वमा गएका विद्यार्थी नेताहरुले भने उमेरको हद नहुने भन्दै त्यस्ता शर्त नमान्न नेतृत्वको ध्यानाकर्षण गराएको थियो।

नेता महतले भने अधिवेशन प्रभावित नहुने अवस्थासम्म आफ्ना उमेर सम्बन्धी सरोकार राख्न भन्दै चुनाव नै भाडिने अवस्था आउनेप्रति सचेत हुन निर्देशन दिएका थिए। उनले नेपाल विद्यार्थी संघलाई पनि विद्यार्थी नेताहरुको नभएर विद्यार्थीहरुकै नेतृत्व निर्माण हुने गरी अघि बढाउन पनि नेविसंघ नेतृत्वलाई सुझाए।

'नेविसंघमा पढिरहेका विद्यार्थीहरु नै नेता हुने अवस्था भए मात्र यसको दायरा बिस्तार हुन्छ,' महतले भने, 'संगठन र यसको भविष्यभन्दा आफ्नो भविष्य र स्थानका विषयलाई ध्यान दिनुभयो भने तपाईँमात्र होइन सिंगो संगठनको भविष्य अन्योल हुन सक्छ।'

नेपाल विद्यार्थी संघको केन्द्रीय समिति बैठक आजै टुंग्याउने तयारी छ। बैठकले १० बुँदे प्रस्ताव तयार पारेको छ। त्यसमा छलफल गरे आजै पारित गर्ने कार्यसूची रहेको महामन्त्री सरोज थापाले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell