PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रेमिकाले ​ब्ल्याकमेल गरेपछि हत्या



सविन ढकाल

प्रेमिकाले ​ब्ल्याकमेल गरेपछि हत्या

काठमाडौं :  श्रीमान रोजगारीको लागी विदेशमा। ३० वर्षकी शोभिता खड्का यता एक्लै। घर चलाउन ललितपुरमा रहेको हेरिटेज फेसन गार्मेन्टमा काम गर्छिन्।

त्यहीँ भेट हुन्छ २० वर्षका राजु मोहमदसँग। विदेशमा रहेका श्रीमान् बेलाबखत नेपाल आइरहे पनि शोभिता सन्तुष्ट हुन सकेकी थिइनन्। सँगै काम गर्ने सिलसिलामा परिचित भएका मोहमदसँग उनी छिट्टै निकटबाट आत्मीय सम्बन्धमा पुग्छिन्।

असोज ५ मा डेराबाट बाहिर निस्किएकी शोभिता डेरामा फर्किइनन्। डेरामा रहेका उनको छोरा एक्लै भएपछि मामालाई खबर गर्छन्। प्रायः कतै जाँदा खबर गर्ने दिदी एकाएक हराएपछि उनको भाइ विपिन खड्का महानगरीय प्रहरी वृत्त सातदोबाटो गएर प्रहरीलाई खबर गर्छन्। 

३० वर्षकी युवती हराएको सूचना आएपछि प्रहरीले उनको परिवारसँग तस्विर लिएर अन्य प्रहरी कार्यालयलाई देखे–भेटे खबर गर्न भन्दै सर्कुलर जारी गर्छन्। तर सर्कुलर जारी भएको २ महिनासम्म शोभिताको पत्तो लाग्दैन। दुई महिनापछि ललितपुरको बालकुमारीमा रहेको गुईपोखरीमा शव फेला परेको प्रहरीमा खबर आए लगत्तै महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगे पनि शवको अवस्था पहिचान लायक थिएन।

कुहिएको अवस्थामा रहेको शव महिलाको हुनसक्ने देखिएपछि प्रहरीले लाश मुचुल्का उठाएर हराएको महिलाको निवेदन खोतल्दा शोभिताको तस्विर फेला परेपछि प्रहरीले उनको परिवारलाई खबर पठाउँदा खुल्छ–शव उनै शोभिताकै हो।

आखिर कसरी मरिन् शोभिता? शव फेला परेको एक साताको अनुसन्धानमा उनको हत्या भएको खुलेपछि उनै २० वर्षीय युवक रौतहट समनपुर गाविस– ५ का २० बर्षिय मोहमदलाई पक्राउ पर्छन्। 

किन र कसरी भयो शोभिताको हत्या?

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार हत्याको कारण हो ब्ल्याकमेल।

१० वर्ष जेठी भए पनि यी दुबै बीचको सम्बन्ध प्रेममा रुपान्तरित भइसकेको थियो। श्रीमान् नेपाल आएको बेला उनी मोहमदबाट टाढा हुन्थिन्, जब उनी फर्किन्थे, दुबै निकट भइहाल्थे।

एक पटक उनका श्रीमानले श्रीमती र मोहमदको सम्बन्धबारे गाइँगुईँ सुनेपछि मोहमदलाई बोलाएर आफ्नी श्रीमतीबाट टाढा हुनु' भन्दै कुटपिट गर्छन्। प्रेमिकाको श्रीमानबाट कुटाई खाएपछि उनले टाढा हुने प्रयास नगरेका हैनन् तर शोभिताले पच्छ्याइरहँदा सकेनन्।

नियमित शारिरिक प्रेमको परिणाम भ्रुणमा रुपान्तरित हुन्छ। त्यहीँबाट शुरु हुन्छ मोहमदको दुःख। अनुसन्धान अधिकारीका अनुसार गर्भ बसेपछि दुबैको सल्लाहमा गर्भपतन हुने औषधि खान्छन्। पहिला प्रेमिकाको श्रीमानको कुटाई, अब गर्भवती।

तर्सिएका मोहमद बिस्तारै शोभिताबाट टाढा हुने प्रयास गर्छन्। तर शोभिता उनलाई सहजै उन्मुक्ति दिने पक्षमा थिइनन्। उनले अब मोहमदबाट पैसा असुल्ने योजनामा लाग्छिन्। एसएसपी अधिकारीका अनुसार उनले राजुसँग ५ लाखको माग गर्छिन्।

कुटाई खाएर पहिल्यै तर्सिएका मोहमद शोभिताको माग पूरा गर्न आर्थिक रुपमा सम्पन्न थिएनन्। पैसा नदिए फस्ने डर उस्तै थियो। यही तनावबीच उनी जटिल निर्णयमा पुग्छन् जसको नतिजा कानुनी फन्दानै थियो। 

'निरन्तर दवावको तनावमा उनले हत्याको योजना बनाएको अनुसन्धानबाट देखिन्छ,' एसएसपी अधिकारीले भने। प्रहरीका अनुसार पैसा दिन्छु भन्दै मोहमदले शोभितालाई सँधै भेटघाट गर्ने च्यासलको गुईपोखरीमा बोलाउँछन्। शोभितालाई दिन उनले आफूसँग रहेको हजारको नोटको फोटोकपी गरेर पैसाको चाङ बनाएका थिए। चक्कु साथमा बोकेकै थिए।

पैसा पाउने आशमा शोभिता पोखरीमा पुग्छिन्। दुबै केही समय पोखरी नजिकै बसेर कुराकानी गर्छन्। शोभिता पैसा पाइने भइयो भनेर मख्ख थिइन् तर मोहमदको दिमागमा सैतान नाचिरहेको थियो। सँगै बसेर अंकमाल गरिररहेका शोभितालाई एक्कासी ढालेर उनको घाँटी थिच्छन्। प्रतिवाद गर्ने शोभिताको प्रयास सफल हुन्न। उनको शरीर बिस्तारै चिसो भएपछि पोखरीमा फालेर डेरा फर्कन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell