
काठमाडौं : पर्यटन खेलकुद रुपान्तरण पखेरुको आयोजनामा बुढानिलकण्ठ नगरपालिकाको पर्यटन विकास गर्ने उद्देश्यले प्रथम बुढानिलकण्ठ माउन्टेनबाइक रेस क्रस कन्ट्री आगामी शनिबार हुने भएको छ। बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा हुने उक्त रेस ६.२ किलोमिटर साइकल ट्रयाकमा आयोजना हुनेछ।
ल्याप सिस्टममा हुने रेसमा विभिन्न ६ इभेन्टमा प्रतिस्पर्धा गराइने आयोजक पखेरुले जनाएको छ। जसमा महिला र पुरुष एलिट समूह, महिला र पुरुष जुनियर समूह, यु २३ समूह, मास्टर्स ३० वर्षभन्दा माथि, भेट्रान ४० भन्दा माथि र भेट्रान ६० भन्दा माथिका छन्।
एलिट समूहलाई ६ ल्याप, जुनियरलाई ३ ल्याप र यु २३ र मास्टर्सलाई ४ ल्यापमा प्रतिस्पर्धा गराइनेछ। मास्टर्स र भेट्रान समूहलाई पनि अनुभवका लागि सहभागी गराउन लागिएको आयोजक पखेरुका सदस्य संजय लुँइटेलले बताए।
बुढानिलकण्ड क्षेत्रको एड्भेन्चर, कल्चर, ग्रीन टुरिसम र इको टुरिसमको प्रमोसन गर्नु रेसको मुख्य उद्देश्य रहेको आयोजकद्वारा विज्ञप्तीमा जनाइएको छ।
रेसमा नेपालका ५० व्यावसायीक क्रस कन्ट्री राइडरस सहित करिब २ सय प्रतिस्पर्धीले भाग लिने बताइएको छ। जसमा एक दर्जन विदेशी समेत सहभागी हुने आयोजकको अनुमान छ।
बुडानिलकण्ठमा पनि साइकलिङ ट्रयाक विकास गर्न र सक्रिय रुपमा पर्यटनको विकास गर्नको यस रेसको आयोजना गर्न लागेको बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासेनीले बताए। उनले चन्द्रागिरी जस्तै त्यस क्षेत्रमा पनि केवलरकार निर्माण गर्ने लक्ष्य रहेको बताए।
नेपाल साइकलिङ एसोसिएसन र नेपाल पर्यटन बोर्डको सहयोग रहेको यस इभेन्टलाई रेड बुलले प्रायोजन गर्नेछ।