33.jpg)
काठमाडौं : सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष २१ गतेदेखि हुने भएको छ। सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी प्रतियोगिताको जानकारी गराएको हो।
नेपालका अन्य सबै क्षेत्रमा यस्ता खाले गोल्डकप भइसकेको र सुदूरपश्चिमा अहिलेसम्म नभएका कारण पहिलो पटक प्रतियोगिता आयोजना गर्न अघि सरेको आयोजकका अध्यक्ष सुरेश हमालले बताए।
कैलालीको धनगढी रंगशालमा हुने गोल्डकपमा नेपालबाट १० र भारतको दुई गरी कुल १२ क्लबको सहभागिता रहने आयोजकले बताएको छ। नेपालबाट तीन विभागिय क्लबहरु पुलिस, आर्मी र एपीएफ, थ्री स्टार क्लब, मनाङ, मर्स्याङ्दी क्लब, संकटा क्लबको सहभागिता रहने छ। यस्तै पोखराको सहारा, नेपालगन्ज तथा भारतको दिल्लीबाट शास्त्री क्लब र कोलकताबाट डाएमण्ड्स क्लबको सहभागिता रहने हमाले बताए।
झापा ११ लाई पनि पत्रचार गरेको तर समय नमिलेका कारण सहभागिता जनाउने सम्भावना कम रहने उनले जानकारी दिए। यसअघि प्रतियोगिताको मिती पुष ३ देखि १२ सम्म तोकिएपनि सातौं राष्ट्रिय खेलकुदसँग समय जुधेका कारण प्रतियोगिताको मिति पुष २१ देखि माघ १ गतेसम्म तोकिएको हो।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५१ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। यसबाहेक विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्बाधिक गोलकर्तालाई १५/१५ हजार प्रदान गरिनेछ। प्रतयेक खेलका म्यान अफ दि म्याचले ५/५ हजार पुरस्कार पाउनेछन्।
'खेलकुदको विकासमा सहकार्य गरी सुदूरपश्चिमलाई खेलकुद, पर्यटनको रुपमा स्थापित गरौं' भन्ने नारासहित हुन लागेको प्रतियोगिताको उद्देश्य धनगढीमा फुटबलको चहलपहल बढाउने, सुदूपश्चिमलाई पर्यटन क्षेत्रको रुपमा चिनाउने, नयाँ खेलाडी तथा अभिभावकहरुलाई फुटबलतर्फ उत्प्रेरित गराउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडी उत्पान गर्ने रहेको विज्ञप्तीमा जनाइएको छ।
नकआउट प्रणलीमा खेलाइने प्रतियोगिता सम्पन्न गर्न करिब ६२ लाख खर्च लाग्ने आयोजक क्लबका अध्यक्ष हमालले बताए। सुदूरपश्चिमबाट फुटबलमा चासो राख्ने व्यक्तिहरु मिलेर क्लब स्थापना गरेको वर्षमै गोल्डकप गर्ने तयारी गरेको उनले बताए। प्रतियोगिता आयोजना गर्न विभिन्न कठिनाई र चुनौती भएपनि कसैबाट सहयोग नभए आफैँ पैसा हालेर भएपनि प्रतियोगिता सफल पार्ने उनले वाचा गरे।