PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

दोस्रो वान डे मा न्युजिल्याण्डलाई ११६ रनले हराउँदै अष्ट्रेलियाद्वारा शृंखला कब्जा



पहिलोपोस्ट

दोस्रो वान डे मा न्युजिल्याण्डलाई ११६ रनले हराउँदै अष्ट्रेलियाद्वारा शृंखला कब्जा

डेविड वार्नरको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा अष्ट्रेलियाले दोस्रो वान डे क्रिकेटमा न्युजिल्याण्डलाई मंगलबार ११६ रनले पराजित गरेको छ। दोस्रो जितसँगै घरेलु टोली अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको ३ खेलको श्रृखंला एक खेल बाँकी छँदै जितेको छ। सिड्नीमा भएको पहिलो वान डे अष्ट्रेलियाले ६८ रनले जितेको थियो।

क्यानवेरास्थित मानुका ओभलमा ओपनर डेविड वार्नरले यस वर्षको छैटौं शतक प्रहार गरेपछि अष्ट्रेलियाले ५ विकेटको नोक्सानीमा ३७८ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा न्युजिल्याण्डका ४७.२ ओभरमा २६२ रनमा अलआउट भयो।

वार्नरले ११५ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा ११९ रन बनाए। उनको यो वान डे करियरको दशौं शतक हो। यससँगै वार्नरले अष्ट्रेलियाका लागि सर्बाधिक शतक बनाउनेमा म्याथ्यु हेडनसँगै चौथो स्थानमा उक्लेका छन्। वार्नर भन्दा अघि रिक्की पोन्टिङ (३०), मार्क वाँ (१८) र एडम गिलक्रिस्ट (१६)  मात्र अगाडि छन्। वार्नरले २०१४ र २०१५ मा २/२ शतक प्रहार गरेका थिए। 

न्युजिल्याण्ड विरुद्ध भने वार्नरको यो पहिलो शतक हो। उनले श्रीलंका र दक्षिण अफ्रिका विरुद्ध ३/३ तथा इंगल्याण्ड, भारत र अफगानिस्तान विरुद्ध १/१ शतक प्रहार गरेका छन्।

यस्तै वार्नरले अष्ट्रेलियाबाट एकै वर्ष सर्बाधिक ६ शतक प्रहार गर्दै रिक्की पोन्टिङको ५ शतकको रेकर्ड समेत तोडेका छन्। एकै वर्ष वार्नरभन्दा धेरै शतक बनाउनेमा भारतका सचिन तेन्दुलकर (९) र शौरभ गांगुली (७) मात्र अगाडि छन्। 

उपकप्तान समेत रहेका वार्नरले कप्तान स्टिभ स्मिथसँग मिलेर दोस्रो विकेटका लागि १४५ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई उच्च स्कोरतर्फ डोहोर्‍याएका थिए। स्मिथले ७६ बलमा ७२ रन बनाए। यस्तै मिचेल मार्श ७६ रनमा नटआउट रहँदा ट्रेभिस हेडले ५७ रनको योगदान गरे। ओपनर आरेन फिन्च १९ तथा विकेटकिपर म्याथ्यु वाड ११ रन बनाएर आउट भए। 

बलिङतर्फ न्युजिल्याण्डका टिम साउदीले २ तथा ट्रेन्ट बोल्ट, मिचेन सान्टनर र कोलिन डे ग्रान्डहोमले १/१ विकेट हात पारे।

उच्च स्कोर पछ्याएको न्युजिल्याण्डका लागि कप्तान काने विलियनसनले सर्बाधिक ८१ रन बनाए। तेस्रो विकेटका लागि जेम्स निसामसँग १२५ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्ट भएन। निसमाले ७४ तथा ओपनर टम लाथमले ४५ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। 

न्युजिल्याण्डलाई अलआउट गर्न अष्ट्रेलियाका प्याट कमिङ्सले ४ विकेट लिए भने मिचेल स्टार्क, जोस हाजलउड र जेम्स फउकनरले समान २ विकेट झारे। वार्नर खेलको 'म्यान अफ दि म्याच' घोषित भए।

तेस्रो तथा अन्तिम वान डे आगामी शुक्रबार मेलवर्नमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell