काठमाडौँ : अपाङगता भएका बालबालिका र युवाहरुको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चितका लागि काठमाडौंमा तीन दिने अपाङगता समावेशी सम्मेलन सुरु भएको छ।
प्लान इन्टरनेशनलले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले नेपाल समावेशीता र सहभागितामूलक सिद्धान्तमा आधारित भई समानता र विभेद रहित समाज निर्माणका लागि अघि बढेको बताए।
समारोहमा प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर स्भेन कोपेन्सले प्लान इन्टरनेशनलले अपाङगता भएका बालबालिकासहित बहिष्करण र पिछडिएका समूहका बालबालिकामाझ पुग्न उपयुक्त र विशिष्ट विज्ञता निर्माण गरेको दावी गरे ।
सम्मेलनमा राष्ट्रसंघीय प्रतिनिधि, विभिन्न देशस्थित प्लान इन्टरनेशनलका प्रतिनिधि, प्राविधिक तथा अपाङगता भएका व्यक्तिका लागि क्रियाशील स्थानीय संस्थाका प्रतिनिधिसहित ४० देशबाट १ सय ३० जना सहभागी भएका छन् ।
सम्मेलन डिसेम्वर ८ सम्म चल्नेछ।
विश्वभरमा गरी एक करोड ५० लाख भन्दा बढी बालबालिकामा कुनै न कुनै खालको अपाङगता रहेको छ।