PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

गृह र प्रहरी नेतृत्वबीच कुरा नमिल्दा प्रहरीको सरुवा–बढुवा प्रभावित



पहिलोपोस्ट

गृह र प्रहरी नेतृत्वबीच कुरा नमिल्दा प्रहरीको सरुवा–बढुवा प्रभावित

काठमाडौं : नेपाल प्रहरीको जनपद र प्राविधिकतर्फ ४ डिआइजीको पद रिक्त भए पनि बढुवा सिफारिस समितिले प्राविधिकतर्फको रिक्त ३ पदमा मात्रै बढुवाको सिफारिस गरेको छ। जनपदतर्फको बढुवामा विवाद बढेपछि त्यताको सिफारिस थाती राखेर प्राविधिकतर्फको मात्रै बढुवा सिफारिस गरेको हो।

त्रिभुवन विमानस्थलको प्रमुख हुँदा यात्रुसँग आइफोन लगायतका सामाग्री घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी गोपाल भण्डारीलाई निलम्बन गरेपछि जनपदतर्फको एक डिआइजीमा बढुवा गर्ने बाटो खुलेको थियो। २०७१ साउन २० मा उनी निलम्बनमा परेका थिए।  प्रहरी नियमावलीअनुसार ६ महिनापछि निलम्बित पदमा बढुवाको प्रक्रिया अघि बढाउनसक्ने भए पनि २ वर्षसम्म रिक्त पद पूरा गर्ने प्रकृया अगाडि बढ्न सकेको छैन।

एक रिक्त पदका लागी एसएसपी गणेश केसी, रमेश भट्टराई, लव विष्ट, केदारमानसिंह भण्डारी दावेदार रहेकाले सहमति हुन नसकेको स्रोतले बतायो। मंसिर ३० मा सेवा अवधिका आधारमा डिआइजी हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले समेत अवकास पाउँदैछन्।

उम्मेदवार बढी भएकाले मंसिर ३० पछिमात्रै बढुवा प्रकृया अगाडि बढाउने मूडमा गृह मन्त्रालय र प्रधान कार्यालयका अधिकारी देखिन्छन्।

एसएसपीको सरुवा भएन

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीको सरुवा हुने भए पनि एसएसपीहरुको सरुवा नभएको १६ महिना कटिसक्यो तर गृह र प्रधान कार्यालयले सरुवाको निर्णय गर्न सकेको छैन।

महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर, पाँच क्षेत्रीय प्रहरी तालिम केन्द्र र १४ अञ्चलका प्रहरी प्रमुखको सरुवाको समय घर्किसक्यो। यीमध्ये महाशाखा, काठमाडौं र ललितपुरका प्रहरी प्रमुखको कार्यकाल १६ महिना कटिसक्यो। प्रधान कार्यालयले २ महिना अगाडिबाटै सरुवाको तयारी गरे पनि निर्णय भने हुन सकेको छैन।

स्रोतका अनुसार महाशाखामा, काठमाडौं र ललितपुरमा आउन चाहने प्रहरी अधिकारीको संख्या धेरै भएकाले मन्त्रालय र प्रहरी नेतृत्वबीच सहमति हुन सकेको छैन।

कुन–कुन डाक्टर हुँदैछन् डिआइजी?

प्रधान कार्यालयले मंगलबार बेलुका सार्वजनिक गरेको सिफारिस सूची अनुसार स्वास्थ्य उप समूह अन्तर्गत रिक्त रहेको तीन पदका लागी डा मिनराज पाठक, डा आशा सिंह र डा सुमनराज श्रेष्ठको नाम सिफारिस भएको छ । उनीहरुविरुद्ध लोकसेवा आयोगको नेतृत्वमा रहेको उजुरी सुनुवाई समितिमा उजुरी नपरे बढुवाको बाटो खुल्ला हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell