
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई ४-० ले पराजित गरेको छ। बार्सिलोनाको शानदार जितमा टर्कीस खेलाडी अर्दा तुरानले ह्याट्रिक गरे। तुरानले १७ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए।
यस्तै मोन्चेनग्लाडबाकसँग ४ गोल गरेसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने कीर्तिमान पनि बराबरी गरेको छ। यसअघि बार्सिलोनाले नै सन् २०११/१२ को सिजनमा २० गोल गर्दै १९९८/९९ मा म्यानचेष्टरले राखेको कीर्तिमान बराबरी गरेको थियो। २०१३/१४ को सिजनमा रियल मड्रिडले पनि समूह चरणमा २० गोल गरेको थियो।
समूह सी अन्तर्गत घरेलु मैदान नोउ क्याम्पले लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। च्याम्पियन्स लिगमा मेसीको यो ९३ औं गोल हो र सर्बाधिक गोलकर्ता रहेको पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भन्दा मेसी अब २ गोलले मात्र पछि छन्।
तुरानले तिनै गोल दोस्रो हाफमा गरे। उनले ५० औं, ५२ औं र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
समूह सी कै अर्को खेलमा नकआउट पुगिसकेको म्यानचेष्टर सिटीले सेल्टिकसँग १-१ गोलको बराबरी खेलेको छ। सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा प्याट्रिक रोवर्टसले चौथे मिनेटमै गोल गर्दै सेल्टिकलाई पहिलो अग्रता दिलाएका थिए। तर त्यसको ४ मिनेटपछि नै केलेची एहेनाचोले बराबरी गोल फर्काए। बराबरीपछि सिटी ९ अंकका समूह उपविजेता बन्यो।
च्याम्पियन्स लिग अन्तर्गत आज राती रियल र जर्मन क्लब बोरुसिया डर्टमण्ड प्रतिस्पर्धा गर्दैछन्। जसमा रोनाल्डोलाई मेसीसँग गोल अन्तर बढाउने मौका हुनेछ भने डर्टमण्डलाई समूह चरणमा बार्सिलोना, युनाइटेड र रियल गरेको २० गोल उछिन्ने मौका छ। यस सिजन डर्टमण्डले समूह चरणमा १९ गोल गरिसकेको छ।