काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ ।
नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिए । उनले भने, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय छन् ।”
महाशाखामा साइबर अपराधबारे दैनिक पाँचदेखि सातवटा घटना अाउने गरेका छन्। दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकसँग सम्बन्धित हुने महाशाखाले जनाएको छ ।
महाशाखामा आर्थिक वर्ष २०७२÷७३ मा ८ सय ३० र आव ०७३÷७४ मा ४ सय ६६ अपराध दर्ता भएका थिए । तीमध्ये आव २०७२÷७३ मा १७ र आव २०७३÷७४ मा १५ मुद्दा अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताए । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ ।