
जाकार्ता : पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ।
यस भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन्। भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन्।
शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका सङ्कटकालीन समूहका प्रेस अधिकृत हेनी नुरमाइनीले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई जानकारी दिएकी छिन्।
यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको हेनीले जानकारी दिएकी छिन्। भूकम्पले अत्यन्त प्रभावित जिल्ला पिडाइ जयामा भत्किएका भवन भग्नावशेषमा दर्जनौ व्यक्ति फसेका बताइएको छ। रासस/सिन्ह्वा