PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

देउवाको प्रस्ताव पौडेललाई पत्तो छैन



रमेश वाग्ले

देउवाको प्रस्ताव पौडेललाई पत्तो छैन

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेको सीमाङ्कन खारेजीको प्रस्ताव कांग्रेसकै वरिष्ठ नेता पौडेललाई पत्तो छैन। केही दिन अघिमात्र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशहरुको सीमाङ्कनका विषयमा सहमति नजुटे सबै प्रदेशको सीमाङ्कन खारेजी गर्ने र शक्तिशाली आयोग मार्फत नयाँ सिमाङ्कन सहित राज्य पुनसंरचनामा जान सकिने विकल्प अघि सारेका थिए।
  
सात दिन लामो जापान भ्रमणबाट बुधबार फर्किएका नेता पौडेलले सीमाङ्कनका विषयमा पार्टी सभापतिले राखेको धारणाबारे अनभिज्ञता जाहेर गरे।
 
'कसकसले केके भन्नुभएको छ र त्यो भनाइको आधार के हो भन्ने विषयमा म जानकार छैन,' पौडेलले भने, 'म उहाँहरुसँग कुरा गर्छु। बुझ्छु अनि मात्र आफ्नो धारणा सार्वजनिक गर्छु।' पौडेलले अहिले संविधान संशोधन गरेर संविधानको कार्यान्वयन गर्दै चुनावमा जनुको विकल्प नभएको बताए।

कांग्रेस सभापति देउवाले गत शुक्रबार मधेसी मोर्चासँगको बैठकमा सीमाङ्कनका विषयमा असन्तुष्टि कायम रहने अवस्थामा सबै प्रदेशको सीमाङ्कन खारेज गरेर नयाँ शक्तिशाली आयोगको प्रस्ताव गरेका थिए। त्यस विषयमा पर्याप्त बहस भने भएको छैन।

पौडेलले बहस आवस्यक हुने नहुने विषयमा प्रवेश नगरे पनि संविधान कार्यान्वनका लागि आफूहरुले पहल जारी राख्ने र प्रमुख पार्टीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।  

'यो संविधानलाई हामीले कार्यान्वयन गर्नुछ। त्यसका लागि प्रमुख पार्टीहरु कांग्रेस एमाले र माओवादी तथा मधेसवादी दलले जिम्मेवार भूमिका खेल्न आवश्यक छ,' पौडेलले भने, 'अहिलेको संशोधन प्रस्ताव रोकेर कसले के पाउने, त्यसपछिको परिस्थिति के हुने हो?'  उनले समस्या भएकै कारण समाधानका लागि नयाँ प्रस्ताव आएको भन्दै एमालेले पहिला आफैले गरेको प्रस्तावलाई 'राष्ट्रघात' भन्नु दुर्भाग्यपूर्ण भएको बताए।

'जनताको गुनासो हुनु स्वभिवक हो। किनभने सीमाङ्कन परिवर्तन गर्दा धेरैलाई असुविधा भएको हुनसक्छ। अन्यौल पनि पैदा भएको हुनसक्छ,' पौडेलले भने, 'तर प्रमुख पार्टीले जिम्मेवार भूमिका सहित त्यसलाई कार्यान्वयन गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell