PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

इन्सास ल्याउनेलाई सुटआउट, प्रहरीले गर्‍यो बाई एण्ड ब्रष्ट!



केपी ढुंगाना

काठमाडौं : कत्तिक २९, विहान ९ बजे। रौतहटको लालबकैया नदीको बाँध नजिकै हतियार कारोबारी सक्रिय रहेको सूचना पाएपछि पुगेको मध्य क्षेत्रीय प्रहरी कार्यालय ‘मुभ’ भयो। साथमा जिल्ला प्रहरी कार्यालय रौतहट पनि परिचालन भयो। प्रहरीको संयुक्त टोलीको ‘अट्याक’मा भारतीय नागरिक तेजिलाल साह गोलीको सिकार भए।

प्रहरीले स्थानीय सञ्चारकर्मीलाई घटनाबारे जानकारी गराउँदै घटनास्थलमै निम्त्यायो।

सञ्चारकर्मी घटनास्थलमा पुग्दा प्रहरीले घटनास्थल क्षेत्रलाई सुरक्षित घेरामा राखेर मुचुल्का उठाइरहेको थियो। मुचुल्का टोलीले त्यहाँ रहेका प्रमाणहरुलाई नम्बरका आधारमा ट्याग दिइसकेको थियो। ट्यागमा थिए मृतक, घटनास्थलमा चलेको गोलीका खोका, र तीन वटा हतियार। प्रहरीले १३ औं नम्बर ट्याग लगाएको हतियार इन्सास थियो।

इन्सास राइफल भारतीय सेना र अर्ध सैनिक बलले मात्रै प्रयोग गर्छन्। यो घातक हतियार नेपाली सेनासँग छ र नेपाल प्रहरीको विशेष कार्यदलको सिमित रुपमा प्रयोग गर्छ ।
तर, नेपाल प्रहरीले यही हतियार एक ‘अपराधी’सँग फेला पारे, कात्तिक २९ मा।

त्यहाँ अन्य हतियार थिए इटालियन र नलकटुवा पेस्तोल र १५ वटा गोली। तर, हतियारको केन्द्रमा इन्सास नै रह्यो।

इन्काउन्टरपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरण अनुसार आपराधिक समूहले बाँध हुँदै हतियार ओसारपसार गर्दैथिए। त्यही सूचनाको आधारमा प्रहरीको संयुक्त टोली त्यहाँ पुगेको थियो।
 
हतियारधारीले अप्रत्यासित रुपमा आएका प्रहरीलाई बाँध नजिकै रोक्न गोली चलाए। प्रहरीले जवाफी फायर खोल्दा साह घाइते भए भने त्यही समूहका अन्य ३ जना भने भागे। सीमावर्ती क्षेत्रमा सक्रिय यो समूहले चलाएको गोली लागेर क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी समेत घाइते भएको प्रहरी विवरणमा उल्लेख छ।

पत्रकारहरुसँग त्यतिखेर मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी पशुपति उपाध्याय र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नविकृष्ण भण्डारीले ‘साहको टोली नेपालमा महत्वपूर्ण ब्यक्तिको अपहरण वा हत्या गर्न आएको हुनसक्ने’ आशंका सार्वजनिक गरेका थिए।
आज बुधबार घटना भएको २३ दिन पुगेको छ। २३ दिनको उपलब्धी प्रहरीसँगको दोहोरो मुडभेडमा मारिएका साह भारत बिहार, ढाका थानाक्षेत्र अन्तरगत कोरैया लौखानका हुन् भन्ने खुलाउन सक्नुमै सीमित देखिएको छ। अनुत्तरित प्रश्नहरु धेरै छन् :

नेपाली सेना र सीमित संख्यामा नेपाल प्रहरीको विशेष कार्यदलसँग मात्रै रहेको घातक हतियार इन्सास आखिर कसले नेपालमा मगाएको थियो?

उनीहरुले कहाँबाट त्यो हतियार ल्याएका थिए र नेपालमा ल्याउनुको उद्देश्य के थियो?

मारिएका साहको आपराधिक पृष्ठभूमि के थियो?

भाग्न सफल अपराधी को–को थिए?

यस बीचमा यस्ता गम्भीर प्रश्नको जवाफ प्रहरी संगठनका अधिकारीसँग छैन।
प्रहरीले महत्वपूर्ण ब्यक्तिको हत्या या अपहरणका लागि इन्सास नेपाल भित्रिएको आशंका गरेको थियो। वास्तवमै आशंका अनुसार नै हतियार नेपाल भित्रिएको थियो त? 

मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी उपाध्याय र रौतहटका प्रवक्ता भण्डारीसँग जिज्ञासा राख्दा कुनै पनि प्रश्नको जवाफ मिलेन।
डिआइजी उपाध्यायले हतियार तस्करीमा समूह सक्रिय रहेको सूचनाको आधारमा प्रहरी परिचालित भएको र मारिएका ब्यक्ति भारतीय अपराधी भएको दावी गरे। भारतमै समेत हत्या अभियोगमा पक्राउ परी जेल परिसकेका ब्यक्ति रहेकोसम्म खुले पनि थप विवरण नआएको उनले बताए।

‘मारिएका ब्यक्ति आपराधिक समूहका सदस्य हुन भन्नेसम्म खुलेको छ अन्य विवरण आएको छैन,’ उपाध्यायले भने, ‘सो समूहबारे थप जानकारी लिन भारतीय पक्षसँग सम्पर्क गरिरहेका छौं।’

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले पनि ‘घटनाबारे फलोअप भइरहेको’ मात्रै बताए।
..............................
नेपालमा ठुला हतियार फेला परेको यो पहिलो घटना होइन। गत  भदौं १६ मै जुम्लामा सर्ट मेसिन गन (एसएमजी) सहित ५ जना पक्राउ परेका थिए। अनुसन्धानमा सो हतियार सशस्त्र द्वन्द्वकालमा माओवादीको रहेको खुलेको थियो।

५ वर्ष अघि पर्सा प्रहरीले वीरगञ्जको सिर्सियामा रहेको जयमंगल कुर्मीको घरबाट २ वटा एसएमजी फेला परेको थियो। कुर्मी सो क्षेत्रमा कुख्यात अपराधी हुन्।

४ वर्षअघि दाङ प्रहरीले पनि एसएमजी सहित सशस्त्र प्रहरीका भगौडा बेलबहादुर घर्तीलाई पक्राउ गरेको थियो। उनीबाट बरामद भएको एसएमजी उनले सशस्त्र प्रहरीबाट लिएर भागेको खुलेको थियो।

७ वर्ष अगाडि काठमाडौंको सिफलमा एसएमजीसहित भारतीय नागरिक पक्राउ परेका थिए। अनुसन्धानमा उनीहरु छोटा राजन समूहका सदस्य रहेको खुलेको थियो।
..............................
डिआइजी उपाध्याय प्रहरी कार्वाहीमा भेटिएको हतियार भारतीय सेना वा अर्धसैनिक बलको कुनै युनिटबाट हराएको हुनसक्ने आशंका गर्छन्।
सैन्य तालिम लिएका ब्यक्तिले मात्रै चलाउन सक्ने घातक प्रकृतिको इन्सास नेपालमा बिक्रीका लागि ल्याइएको हो भने सामान्य आपराधिक समूहले मगाउने सम्भावना देखिन्न। हतियारको प्रकृतिका आधारमा नेपाल भित्रिएको यो हतियारको सम्बन्ध भूमिगत सशस्त्र समूहसँग जोडिनसक्छ।

सामान्य प्रकृतिको हतियार फेला पर्दा समेत गम्भीर अनुसन्धानमा खटिने गर्छ प्रहरीको विशेष ब्युरो। आतंकवाद र अन्तर्देशीय अपराध हेर्ने ब्युरो रौतहटको यस घटनाको अनुसन्धानमा संलग्न देखिएन। यसले शंकामाथि शंकामात्र बढाएको छ। कतै हतियार भित्र्याउनुको उद्देश्य गम्भीर प्रकृतिको नदेखिएको त होइन?

सेनाले मात्रै प्रयोग गर्ने इन्सासको स्रोत के हुनसक्छ? हतियारको स्रोतको सूचनाबाट टाढै छ प्रहरी।  
..............
प्रहरी आफैं ग्राहक बनेर हतियार मगाउने र हतियार ल्याउनेलाई पक्राउ गर्ने ‘ट्रिक’ सुरक्षा निकायका लागि नौलो अभ्यास होइन। नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसअघि पक्राउ गरिएको हतियारबारे भएको अनुसन्धानमा आफैं ग्राहक बनेर हतियार मगाउने र तस्कर पक्रने गरेका घटना  सार्वजनिक भएका थिए।

रौतहट घटना पनि कतै यही ‘बाई एण्ड ब्रष्ट’ थ्योरीकै नतिजा त हैन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell