PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

६७ वर्षे वृद्धको पीडा- 'श्रीमतीलाई गुमाएँ, २२ वर्ष बित्यो तर छोरो घर फर्किएन'



रासस

रामपुर (पाल्पा) : ‘बुढेसकालमा छोराले सेवा गर्ला भनेर छोरो जन्माएँ, २२ वर्ष बित्यो छोरो बेखबर छ’, नेत्रप्रसाद तिवारीको बिलौना हो यो।
 
रामपुर नगरपालिका–७ सुन्दरटोल बस्ने तिवारीका छोरा खगनाथ बेपत्ता भएको २२ वर्ष हुँदा पनि उनी अझै बेखबर छन्।
 
‘कसले कहाँ लग्यो, कता गयो, जिउँदो छ या मर्‍यो, केही पत्तो पाइएन’, बाबु नेत्रप्रसाद आँसु झार्दै भन्छन्। १९ वर्षको उमेरमा २०५१ साउन ९ गते दिउँसो घरबाट निस्केका खगनाथ अहिलेसम्म आफन्त, परिवार, छिमेकी, साथी कसैको पनि सम्पर्कमा छैनन्।
 
बुढेसकालमा छोराले सहारा दिन्छ कि भनेको छोरो नै बेपत्ता हुँदा निकै पीडा मनमा बल्झिरहने नेत्रप्रसाद बताउँछन्। चाडपर्वका बेला गाउँमा अरूका छोरा देश विदेशबाट घर फर्कंदा, छोराको झझल्कोले सताउने गरेको पीडा उनलाई बल्झिरहन्छ।
उमेरले ६७ वर्ष पुगेका नेत्रप्रसाद जीवनको अन्तिम घडीसम्म भए पनि छोरो घर फर्कन्छ कि भन्ने आशामा छन्।
 
एकातिर श्रीमती चन्द्रकलाको मृत्युको पीडा, अर्कोतिर छोरो बेखबर रहँदा उनका दिन सधैं आँसुमा बितेका छन्। ‘खोज्न जाऊँ कहाँ? केही पत्तो छैन,’ भन्छन्, ‘घर बसौँ त मनमा धेरै कुरा खेल्छन्। बुढेसकाल लाग्यो, छोरो घर फर्किएन।’
 
नेपालका धेरैजसो र भारतका केही स्थानमा समेत खोजीनिती गर्दा पनि अहिलेसम्म सम्पर्कमा नरहेको उनका दाजु दोबराज तिवारीको भनाइ छ। परिवारले भने बेखबर बनेका खगनाथ अझै पनि घर आउने आशा गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell