
काठमाडौं: अभिनेता राजेश हमाल पुन: 'रातो टिका निधारमा' भन्दै नाच्ने भएका छन्। बुधबार राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि भेटिएका उनले पुस ८ गते दुबईमा हुने नवौं संस्करणको नेफ्टा अवार्डमा आफूले डान्स प्रस्तुत गर्ने बताए।
कुनै अवार्ड फङ्शनमा पहिलोपटक नाच्न लागेको बताउँदै भने,'निकै फरक अनुभूति भैरहेको छ। पोहोर व्यक्तिगत कारणले कतार जान सकिँन तर यसपटकको अवार्डलाई सफल बनाउन मेरो नृत्यको पनि योगदान हुनेछ।’
थुप्रै मजदूर र श्रमिक कार्यरत युएईमा नृत्य प्रस्तुत गर्न र उनिहरुलाई भावनात्मक साथ दिने कुराले उत्साहित र भावुक बनाएको राजेश हमालले सुनाएका छन्।
नेफ्टा अवार्डको चर्चा गर्दै उनले मलेसिया अवार्डमा नेफ्टाले उनलाई महानायक उपाधि दिलाएको सम्झिए। सो कारण पनि नेफ्टासँग भावनात्मक सम्बन्ध रहेको उनको भनाई छ।
नेफ्टा अध्यक्ष पुष्कर लामाले अवार्डको अन्तिम तयारी भैरहेको जानकारी दिए। ‘नेफ्टा फिल्मलाई अन्तराष्ट्रियकरण गर्ने र अवार्डलाई क्वालिटी तुल्याउने काममा प्रतिबद्ध छ’ लामाले भने।
नेपालबाट १ सय २० सेलेव्रिटीसहितको टोली २२ डिसेम्बरमा दुबई जाँदैछन्।
मलिना, करिश्मा मानन्धर, सलोन बस्नेत, साम्राज्ञी शाह, अनुप, रोहित रुम्बा, रीस्ता बस्नेत, छुल्ठिम गुरुङ, माला लिम्बु लगायतले नृत्य पूर्वभ्यास गरिरहेका छन्।