काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको केन्द्रीय समितिको संख्याले आफूलाई आश्चर्यमा पारेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीमा कसरी ४ हजार मान्छे पुगे? मलाई अचम्म लागेको छ। नाम नै माओवादी केन्द्र भएपछि सबै केन्द्रमा आए; तल कोही पनि छैनन्।‘
प्रचण्डले एमालेविरुद्ध भण्डाफोर गर्ने बताएको प्रसंग उप्काउँदै अध्यक्ष ओलीले 'लुटेका धनले चलेका माओवादीका मिडिया एमालेविरुद्ध लागे पनि आफूहरु कहिले विचलित नहुने' बताए।
संविधान कार्यान्वयन र निर्वाचनका बारेमा सरकारले केही नगरेको उनको आरोप छ। ‘यो सरकार शासन चलाउने सरकार होइन। संक्रमणकाल अन्त्य गर्ने र निर्वाचन गराउने सरकार हो,’ ओलीले थपे, ‘निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन कानुन नबनाउने हो भने कुर्सीमा बस्न मिल्दैन।‘
सरकारको गियर अड्किसकेको भन्दै उनले थपे, 'कांग्रेस र माओवादी मिल्दा पनि सरकार चलाउन सकेनन्।‘