
काठमाडौं : मोटरसाइकलबाट लुट्नेहरुको कथालाई पछ्याउँदै बनेको हिन्दी फिल्म धुममा झै 'कारोबार गर्ने' नेपालमा कम छैनन्। सिनेमामा जसरी हुइक्याउँदै मोटरसाइकल कुदाउने र लुट्ने डन त यहाँ छैनन् तर तिनको सिको गरेर खुद्रा लुट मच्चाउनेहरु नभएका होइनन्। प्रकाश सुनवार र उनको टीमको गेम बलिउडको फिल्म धुम झै लाग्छ।
हरेक दिउँसो २ बजेपछि प्रकाश सुनवारको फिल्मी शैलीको कारोबार शुरु हुन्छ। आफ्ना तीन साथीलाई भेला पारेपछि उनी सक्रिय हुन्छन्। दुईवटा मोटरसाइकल लिएर उनीहरु राजधानीको व्यस्त सडकमा निस्किन्छन्।
एक जना मोटरासाइकलको पछि बस्छन् र अर्का एक्लै। सिकारलाई अल्मल्याउने एक र बाँकी दुईले थाल्छन् लुटपाट। होस् गर्नुस् घाटीमा मोटो चम्किलो सुनको सिक्री लगाउनुहुन्छ भने यिनीहरुको शिकारमा तपाईँ पनि पर्न सक्नुहुन्छ।
फिल्मी शैलीमा एक जनाले मोटरसाइकलबाट अवरोध गर्ने र बाँकी दुई जनाले गलाबाट सिक्री थुत्ने कलामा यिनीहरु माहिर छन्। त्यसपछि मोटरसाइकलको हुइँकाइ धुमकै गतिमा हुन्छ।
प्रकाश सुनवारको यही लुटको व्यापार नौ वर्षदेखि राजधानीमा चलिरहेको थियो। प्रकाश प्रहरीको फन्दामा परिसकेपछिमात्रै धुम फिल्म झै नेपालको अपराधको दुनियामा यस्तो 'प्लट' को खुलासा भएको हो।
दैनिक दुई सिक्री लुटेपछि यिनीहरुको बेलुकीको छाक टर्छ। यसरी लुटेपछि त्यसलाई बेफिक्री खर्चेर उडानु दैनिक नै हो यिनीहरुको। अम्मल र यौनमा लुटको धन लुटाउनु चाहिँ सौख। प्रकाशको यो समूह शहरका लागि आतंकै बनिरहेको थियो।
प्रहरीको पनि टाउको दुखाइ बनेका यो समूहलाई गएको बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका प्रकाश सुनवारसँगै, सिन्धुलीका जीवन थापामगर, पर्वतका दीपेन्द्र लामिछाने र पुरानो बानेश्वरका सुन व्यापारी डिल्ली शेर विक पनि छन्। विकले लुटिएका सुन बजारमा पुर्याउँथे।
उनीहरुले राजधानीका विभिन्न स्थानमा ७० जनाभन्दा बढीबाट सिक्री लुटेको प्रहरीको दावी छ। उनीहरुको साथबाट प्रहरीले १५ तोला सुनका गहना समेत बरामत गरेको महानगरीय प्रहरी बृत्तका डिएसपी नवराज कार्कीले जानकारी दिए।
लामो समयदेखि राजधानीमा मोटरसाइकल प्रयोग गरेर सुनका गहना लुट्ने गिरोहको खोजी गरेपनि प्रहरी सफल भएको थिएन।
तर, कथामा एकाएक ट्विस्ट आयो। मतलब ट्विस्ट ल्याउने त्यो आधार थियो अकाट्य सुराकी। सुराकी दिनेले राजधानीमा ९ वर्षदेखि लुट गर्नेको नाममात्र दिएन सम्पूर्ण विवरण नै टिपायो। उनीहरुको जीवनशैली र कारोबारको डिटेल विवरण।
त्यसपछि त प्रहरीका लागि के चाहियो? धुमका पत्रमा झै यिनीहरुमाथि निगरानी सुरु भयो। रोचक त के रह्यो भने सुराकी दिने अरु कोही नभएर पक्राउ परेकाकै आफन्त थिए जसले अपराधको यो श्रृंखलालाई नयाँ मोडमा पुर्यायो। लुटबाट आजित भएका ती आफन्तले सुनवारको लुटको लत सुर्धान प्रहरीलाई सुराकी दियो।
रिल र रियलबीच यहाँ थोरै भिन्नता देखियो। बलिउडको सुपरहिट फिल्ममा धुम मचाउने चोरहरु अझै समातिएका छैनन्। सिक्बेलमा बनिरहेको धुमको श्रृंखला कहिले रोकिने भर छैन तर सुनवारको कथा भने यही टुंगिएको छ। तर, प्रकाशको यो स्टोरी अन्त्य होइन्, पात्र फेरिए पनि प्रवृत्तिलाई प्रहरीले कहिले टुंगोमा पुर्याउँछ हेर्न बाँकी छ। तपाईँहरु पनि गहना लगाएर हिड्दा होस् पुर्याउनुस्, नत्र लुटिएका पात्रमा तपाईको नाम पनि लेखिनसक्छ।
'यस्ता केही लुटेराहरुको हामीले पहिचान गरेका छौं तर पकड बाहिर नै छन्,' प्रहरी निरीक्षक अरुण भण्डारीले भने, 'फेरि यस्ता लुटेरा सजायँ भुक्तान गरेपछि पनि फेरि लुटपाटमै लाग्ने गरेको देखिन्छ।'
(तस्बिर : प्रतीकात्मकमात्र हो।)