PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

संसारले नेपालबाट सिक्न सक्छ शान्ति स्थापनाको सन्देश : परराष्ट्रमन्त्री महत



पहिलोपोस्ट

संसारले नेपालबाट सिक्न सक्छ शान्ति स्थापनाको सन्देश : परराष्ट्रमन्त्री महत

काठमाडौँ : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकाले यसबाट विश्वले नै सिक्नसक्ने बताएका छन्।

इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ।‘
 
विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बिहीबार बिहान गरे। यस सम्मेलनको यसपटकको नारा (थिम) धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ।
 
शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको सङ्घर्षको उदाहरण दिँदै परराष्ट्रमन्त्री डा महतले यस सङ्घर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको धारणा राखे।
 
उनले नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत आफैं संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्वारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताए।
 
मन्त्री डा महतले भने, ‘हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसद्मा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell