काठमाडौँ : राजनीतिक दलका नेतृहरुले पार्टीभित्र पनि आफूहरुमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन्।
महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले आज आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले राजनीतिमा महिलामाथि हिंसा हुने गरेको बताइन्।
राज्यका प्रत्येक निकायमा उम्मेदवारी ३३ प्रतिशत महिलाको नभई परिणाम ३३ प्रतिशत महिलाको हुनुपर्नेमा उनले जोड दिइन्।
नयाँ शक्ति नेपालका नेतृ हिसिला यमीले राजनीतिक हिंसा पार्टीभित्र हुने गरेको उल्लेख गर्दै संसद्मै बोल्न खोज्दा ‘तिमीलाई रुप देखाउन ल्याएको’ भन्ने जस्ता लज्जास्पद शब्द प्रयोग हुने गरेको स्मरण गरिन्।
नेकपा (एमाले) नेतृ कल्याणी रिमालले राजनीतिक दलहरुमा हिंसा गर्नेलाई प्रवेश नै गर्न दिन नहुनेमा जोड दिँदै कुनकुन शब्दको प्रयोग गर्दा हिंसा हुन्छ भन्ने कुरालाई पनि बोल्दाखेरी ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।
सहभागीले राजनीतिमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको, नेतृहरुको क्षमता र योग्यताको ख्याल नगरी निर्वाचन गर्दा र समानुपातिकमा टिकट दिँदा पनि पकेटको मान्छेलाई दिने गरेको गुनासो राखेका थिए।रासस